‘यो निर्वाचन युवा पुस्ता कि हजुर बा पुस्ता भन्ने जनमत संग्रह हो’ -रेखा थापा

‘यो निर्वाचन युवा पुस्ता कि हजुर बा पुस्ता भन्ने जनमत संग्रह हो’ -रेखा थापा


राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले आगामी मंसिर ४ गतेको निर्वाचन युवा पुस्ता कि हजुर बा पुस्ता भन्ने जनमत संग्रह रहेको जिकिर गरेकी छन् । 

मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको उम्मेदवार समेत रहेकी थापाले बिहीबार चुनावी घरदैलोको क्रममा यस्तो बताएकी हुन् । पथरीशनिश्चरे १० मा भएको घरदैलोमा बोल्दै उनले भनिन्- 'मंसिर ४ को निर्वाचन केवल निर्वाचन मात्रै हैन । यो युवा पुस्ता कि हजुर बा पुस्ता भन्ने जनमत संग्रह पनि हो । यो पटक देशभर युवाहरू परिवर्तनको लागि बिद्रोह गरिरहेका छन् ।' 

उनले पुरानो पुस्ताबाट वाक्क भएका जनताहरूलाई विकल्प दिन युवा पुस्ता मैदानमा आउन बाध्य भएको जिकिर गरेकी छन् । उनले भनिन्- 'पार्टी बचाउने नाममा आफ्नो छोरा, नाति, बुहारी खाडी पठाउने, छोराछोरी कहिले फर्किएर आउलान् भनेर बुवा आमा कुरेर बस्ने, अनि छोरो सग्लो आउँछ कि बाकसमा आउँछ थाहा छैन । यस्तो राजनीति कहिलेसम्म गर्ने ? यो पटक युवा जागेका छन् । युवालाई निराश नबनाई दिनुहोस् ।'

उम्मेदवार थापाले युवा पुस्तालाई जनताले निराश बनाए फेरि पनि देशको अवस्था उस्तै रहने बताएकी छन् । उनले साँच्चै नेपाली जनताले विकास चाहने हो भने जुनसुकै पार्टी भएपनी नयाँ अनुहार र युवा जोसलाई नीति बनाउने स्थानमा पुर्‍याउनुको विकल्प नरहेको बताएकी छन् ।

Logo