किन घट्दैछन् संसदमा युवा उम्मेदवार ?

किन घट्दैछन् संसदमा युवा उम्मेदवार ?


आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा युवा उम्मेदवारको सङख्या घटेको छ । देशभर संसदीय निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा गरेर ५ हजार ६ सय ३६ उम्मेदार रहेका छन् । जसमध्ये प्रतिनिधिसभा तर्फ १६५ सिटमा २ हजार ४ सय १२ जना उम्मेदवार छन् भने प्रदेशसभातर्फ ३३० सिटमा ३ हजार २ सय २४ जना उम्मेदवार छन् । 

निर्वाचन आयोगले प्रकाशित गरेको तथ्याङ्क अनुसार प्रतिनिधिसभा र प्रदेशसभा गरेर देशभर १ हजार ७ सय ६६ मात्र युवा उम्मेदवार रहेका छन । प्रतिनिधिसभा सदस्यका लागि ७५९ रहेका छन भने प्रदेशसभा सदस्यका लागि १ हजार ७ जना युवाले उम्मेदवार दिएका छन । जसमध्ये राजनीतिक दलमा भन्दा स्वतन्त्र उम्मेदवारी दिने युवाको संङ्ख्या धेरै रहेको छ । राजनीतिक दलहरुले युवालाई प्राथमिकता नदिएको कारण नै संसदमा युवाको उम्मेदवारी घट्दै गएको प्रष्ट बुझ्न सकिन्छ । २०७४ सालको संसदीय चुनाव र गत स्थानीय तह निर्वाचनको तुलनामा यसपालि युवा उम्मेदवारको सङ्ख्या घटेको हो ।

ठूला राजनीतिक दलले नै युवालाई टिकट नदिँदा युवा उम्मेदवार घट्दै गएको हो । नेपाली कानून अनुसार १६ वर्षदेखि ४० वर्षसम्म उमेर समूहको व्यक्तिहरु युवा वर्गमा पर्दछन् । निर्वाचन कानूनले भने २५ वर्ष पुगेपछि मात्र उम्मेदवार बन्न योग्य हुने जनाएको छ । २०७४ सालको निर्वाचनमा ५ हजार १ सय ९० जनाले उम्मेदवारी दिएकोमा एक हजार ८ सय ९ जना मात्र युवा थिए । यस पटक ५ वर्षको अन्तरालमा ७६ जनाले घटेर १ हजार ७ सय ६६ जना पुगेका छन् । यसरी नै युवा वर्गको उम्मेदवार घट्दै जाने हो भने संसदमा युवाहरु नै देखिन छाड्ने छन् । 

प्रतिनिधिसभा सदस्यतर्फ कति छन् युवा उम्मेदवार ? 
प्रतिनिधिसभा सदस्यतर्फ ७५९ युवा उम्मेदवारमध्ये ३५६ जना स्वतन्त्रबाट आएका छन् भने ४०३ मात्र अन्य राजनीतिक दलबाट आएका छन् । जसमध्ये मुख्य दलहरुले नै कम मात्रमा युवालाई टिकट दिएका छन् । प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले ३ जना, नेकपा एमालेले ७ जना र नेकपा माओवादी केन्द्रले ६ जना युवालाई उम्मेदवार बनाएको छ । यस बाहेक अन्य दलहरुले केही हदसम्म युवालाई उम्मेदवार बनाए पनि मुख्य प्रतिस्पर्धामा हुने ठाउँमा बनाएको छैन् । त्यसैगरी नागरिक उन्मुत्ति पार्टीले ५, जनता समाजवादी पार्टीले २५, राष्ट्रिय स्वतन्त्र पार्टीले ७२, नेपाल मजदुर किसान पार्टी ३६, राट्रिय प्रजातन्त्र पार्टीले २६, मंगोल नेशनल अर्गनाइजेसनले ३९, लोकतान्त्रिक समाजबादी पार्टीले १५, आमूल परिवर्तन मसिहा पार्टीले १०, एकीकृत शक्ति नेपालले ६, जनमत पार्टीले १४ र जनसमाजवादी पाटीले ११ जना युवालाई उम्मेदवारी बनाएको छ । यस्तै, पिछडा वर्ग निषाद दलित जनजाति पार्टीले २, विवेकशील साझा पार्टीले पनि २ जनालाई मात्र उम्मेदवार बनाएको छ । 

प्रदेशसभा सदस्यतर्फ कति युवा उम्मेदवार ? 
प्रदेशसभा सदस्यतर्फ ठूला दलहरुले पनि युवालाई उम्मेदवार बनाएको छ । ३ हजार २ सय २४ जना उम्मेदवार मध्ये १ हजार ७ जना युवा रहेका छन् । जसमा नेपाली कांग्रेसले १५, नेकपा एमालेले १५ र नेकपा माओवादी केन्द्रले २१ जनालाई उम्मेदवार बनाएको छ । यस्तै, जनता समाजवादी पार्टीले ३५, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पार्टीले १४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७४, लोकतान्त्रिक समाजवादी पार्टीले २१, नेकपा एकीकृत समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले २८, नेपाल मजदुर किसान पार्टीले ४८ र मंगोल नेशनल अर्गनाइजेसनले ७१ जना युवालाई उम्मेदवारी बनाएको छ । 

नयाँ पुस्तालाई टिकट नदिएर पटक पटक एउटै उम्मेदवार दोहोरी रहँदा पनि देशमा विकासले गति लिन सकेकाे छैन । ठूला राजनीतिक दलले टिकट नदिँदा युवाहरु स्वतन्त्र उम्मेदवार बन्न बाध्य भएका छन् ।

Logo