के भन्छन् काठमाडौं- ४ का मतदाता ?

के भन्छन् काठमाडौं- ४ का मतदाता ?


निर्वाचन हुन अब ५ दिन मात्रै बाँकी  छ । उम्मेदवारहरुलाई चुनावी प्रचारप्रसारमा भ्याइनभ्याइ छ । यतिबेला अधिकांस नेताहरु प्राय जनताको घरदैलोमा भेटिन्छन । चुनावका बेला प्राय सँधै यही विशेषता दोहोरिने गर्छ । गत स्थानीय चुनावदेखि बढेको स्वतन्त्रतर्फको उम्मेदवारी दर संघीय चुनावमा झन बढेको छ । देशकै राजधानी रहेको काठमाडौैंमा हुने निर्वाचनलाई विशेष चासोका साथ हेर्ने गरिएको छ । किनभने यहाँको निर्वाचन तौरतरिका र नेतृत्वको प्रभाव अन्य निर्वाचन क्षेत्रमा सजिलै पर्ने भएकोले पनि विशेष चर्चा पाएको हो । 

काठमाडौंमा दश निर्वाचन क्षेत्र रहेका छन् । तीमध्ये काठमाडौं क्षेत्र नम्बर चारको निर्वाचनलाई निक्कै रोचक ढंगले हेरिएको छ । दल र स्वतन्त्र गरी ३५ उम्मेदवार भएको काठमाडौं चारको मुख्य प्रतिस्पर्धीका रुपमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका नेता डा. राजन भट्टराई छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. ठाकुर मोहन श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अरुण श्रेष्ठपनि यसै क्षेत्रबाट चुनावी प्रतिष्पर्धामा छन् । सबै उम्मेदवार मध्येमा महामन्त्री थापा र नेता भट्टराई बिचकोे प्रतिस्पर्धा धेरैको चासोको विषय बनेको छ । चुनावी चहलपहल जारी रहँदा दलगत हिसाबले हेर्दा दुबै उम्मेदवारको क्षमता उस्तै देखिएकाले कसले बाजी मार्ला अहिल्यै आंकलन गर्न सक्ने अवस्था नरहेको मतदाताहरुको भनाइ छ । जित हार युवा मतदाताको हातमा रहेको बताउँछन् काठमाडौ चारका मतदाता अर्जुनकुमार निरौला ।   

काँग्रेस महामन्त्री थापा काठमाडौँका मात्रै नभई बाहिरका मतदाता माझ पनि लोकप्रिय छन् । नेता थापा प्रधानमन्त्रीका रुपमा समेत चर्चामा आउन थालेका कारण पनि उनको चुनावी प्रचार प्रसार केही ओजिलो देखिएको कतिपयको बुझाइ छ । काठमाडौँ चारका मतदाता शिवराम ढकाल पनि गगन थापालाई प्रधानमन्त्री भएको हेर्ने रहर भएकाले पनि उनले चुनाव जित्ने सम्भावना बढेकोे बताउँछन् । उनी भन्छन् ‘गगन जस्तो नेता पाइँदैन् । त्यसैले पनि जित्न पर्छ ।’ 

नेपाली काँग्रेससँग चार दलले गठबन्धन गरेका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको मत पनि थापालाई नै जाने भएकोले उनी बढी सुरक्षित देखिएका छन् । गठबन्धनको हिसाबले हेर्दा नेता थापाले जित्ने सम्भावना बढी भएपनि उनको महत्वाकांक्षा र केही अभिव्यक्तिले बिगार गर्छकि भन्ने डर पनि रहेको कतिपयको बुझाइ छ । 

काठमाडौंकै अर्का मतदाता उदबबहादुर गौतम भन्छन् ‘थापाले अहिले प्रधानमन्त्री बन्छु भन्न हुँदैन । त्यहिँ पनि अहिले त गठबन्धन छ ।’

थापा दुईपटक निर्वाचित भइसकेका उम्मेदवार हुन् भने भट्टराई पनि एमालेभित्र आफ्नो शालीन र बौद्धिक छवि निर्माण गरिसकेका उम्मेदवार हुन् । उनीसँग प्रत्यक्ष निर्वाचनको अनुभव कम भएपनि अध्ययन र लगनशीलताका हिसावले उनी अब्बल उम्मेदवार रहेको राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ । सत्ता गठबन्धन र प्रतिपक्षी दल सम्बद्ध यी दुबै उम्मेदवार उत्तिकै प्रभावशाली र सम्भावना बोकेका युवा भएका कारण कसले जित्छ अहिले नै भन्न नसकिने अवस्था रहेको काठमाडौं ४ की मतदाता दीपा ढकाल बताउँछिन् । 

आसन्न निर्वाचन २०७९ मा २५ वर्षदेखि ९९ सय वर्ष सम्मका उम्मेद्वारहरु प्रतिष्पर्धामा रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । पछिल्ला समय युवा नेतृत्व चयनको माग जोडतोडले उठ्दै आएको छ । मंसिर ४ मा हुने निर्वाचनमा पनि युवा उम्मेदवारी बढ्ने अपेक्षा धेरैको थियो । तर, यो निर्वाचनमा २०७४ को निर्वाचनको तुलनामा ४ प्रतिशतले युवा उम्मेदवारी घटेको छ । यद्यपि नयाँ सँगै पूराना दलहरुमा पनि केही प्रभावशाली युवा उम्मेद्वार रहेका छन्। युवा नेता भएको हिसाबले गगन थापाले काठमाडौं ४ मा धेरै मत पाउने सम्भावना रहेको काठमाडौं चारका अर्का मतदाता हरिबहादुर क्षेत्रीको अनुमान छ । 

उम्मेदवारी दिनु अगाडि नै प्रधानमन्त्रीका लागि चुनाव लड्ने अभिव्यक्ति दिँदै आएका थापा उम्मेदवारी दिएपछि पनि ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्ने भन्दै आएका छन् । यता एमाले नेता भटराई भने पहिलोपटक सांसद बन्ने तयारीमा छन् । नेता थापाले चुनाव जित्दा काठमाडौं क्षेत्र नम्बर ४ ले प्रधानमन्त्री पाउने भएकाले पनि केही मतदाता आकर्षित भएको काठमाडौं क्षेत्र नम्बर ४ का मतदाता सुदर्शन न्यौपानेको बुझाइ छ । 

युवामाझ लोकप्रिय मानिएका थापाले स्वास्थ्यमन्त्री हुँदा सुधारका केही काम गरेकाले पनि नेता थापालाई चुनाव जित्न सजिलो हुने काठमाडौ क्षेत्र नम्बर ४ की मतदाता गीता आचार्यको विश्वास छ ।

काठमाडौँ- ४ कै मतदाता तोपलाल बस्नेत पनि गठबन्धन दलभित्र सहमति पालनामा हार्दिकता रहे गठबन्धनका उम्मेदवारलाई चुनाव जित्न सजिलो हुने तर्क गर्छन् । यस क्षेत्रमा काठमाडौँ महानगरपालिकाका वडा नम्बर १, ७, ८ र ३० रहेका छन् । त्यसैगरी बुढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ नम्बर वडा रहेका छन् ।

Logo