यी हुन् सांसद् बनेका महिला उम्मेदवारहरु

यी हुन् सांसद् बनेका महिला उम्मेदवारहरु


प्रतिनिधि सभाको मतगणना जारी रहँदा प्रत्यक्षतर्फको १६५ सिटमध्येबाट विभिन्न दलबाट ७ जनामात्र महिलाले चुनाव जित्न सफल भएका छन् । 

गत आइतबार सम्पन्न भएको आमनिर्वाचनमा प्रत्यक्षतर्फ ९.३३ प्रतिशत मात्रै महिला उम्मेदवार रहेका थिए । याे रिपाेर्ट तयार पार्दासम्म नेपाली कांग्रेसबाट कोही पनि विजय भएका छैनन् । त्यसो त प्रत्यक्षमा कांग्रेसले ५ जना महिला उम्मेदवार उठाएको थियो । एकीकृत समाजवादीबाट पनि कोही पनि निर्वाचित भएका छैनन् ।

नेकपा (एमाले)
नेकपा एमालेले आम निर्वाचन २०७९ मा सबैभन्दा धेरै ११ जना महिला उम्मेदवार उठाएको थियो । तीमध्येबाट हालसम्म ३ जना महिला उम्मेदवार निर्वाचित भएका छन् । 

जुलीकुमारी महतो 
धनुषा ३ मा नेकपा एमालेकी जुलीकुमारी महतो विजयी भएकी छन् । उनी निकटतम प्रतिस्पर्धीसत्ता गठबन्धनका उम्मेदवार अनिलकुमार झालाई ९ हजार ६६९ मत अन्तरले पराजित गर्दै विजयी भएकी हुन् । उनले ३३ हजार ३५५ मत प्राप्त गर्दा गठबन्धनका झाले २३ हजार ६८६ मत प्राप्त गरेका हुन् । 

विद्या भट्टराई 
यसैगरी कास्की क्षेत्र नम्बर २मा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन। उनले साढे चार हजार भन्दा बढीको मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कंडेललाई पराजित गरेकी हुन् । भट्टराईले १६ हजार ९९८ मत प्राप्त गरेकी हुन भने कंडेलले १२ हजार ४९५ मत पाएका हुन् । 

ज्वाला कुमारी शाह
यसैगरी बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकी ज्वाला कुमारी साह विजयी भएकी छन। साहले २ हजार ९८२ मतान्तरले जनता समाजवादी पार्टीका रामबाबु कुमार यादवलाई पराजित गरेकी हुन्। साहले२० हजार २५१ मत ल्याएकी छन् भने यादवकले १७ हजार २६९ मत प्राप्त गरेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी 
नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि २ महिला उम्मेदवारलाई जिताउन सफल भएको छ ।

तोसिमा कार्की 
ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की विजयी भएकी छिन् । उनले निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार अमृत खड्कालाई १८ हजारभन्दा बढी मतले पराजित गरेकी हुन् । तोसिमा ३१ हजार १ सय ३६ मतसहित विजयी भएकी हुन् ।प्रतिस्पर्धी एमालेका खड्काले १२ हजार ९ सय ६३ मत प्राप्त गरेका हुन् । यसै क्षेत्रमा ऊर्जामन्त्री पम्फा भुसाल पनि उम्मेदवार थिइन् । उनले ८ हजार ७ सय ६९ मत ल्याइएकी हुन् ।

सोविता गौतम
रास्वपाबाट चुनाव जित्ने अर्की महिला सांसद हुन सोविता गौतम । उनी काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी हुन । गौतमले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयाललाई साढे तीन हजारभन्दा बढी मतले पराजित गरेकी हुन्। उनले १५हजार २२९ मत प्राप्त गर्दा एमालेका फुयालले ११हजार ५५५ मत प्राप्त गरेका छन्। यसै क्षेत्रमा गठबन्धनकातर्फबाट पूर्वसभामुख ओनसरी घर्ती पनिउम्मेदवार थिइन् । घर्तीले ९ हजार ४४८ मत ल्याएकी छन्।

नेकपा (माओवादी केन्द्र) 
आम निर्वाचन २०७९ मा नेकपा (माओवादी केन्द्र)ले ७ जना महिला उम्मेदवार उठाएको थियो ।तीमध्येबाट अहिलेसम्म एकजना निर्वाचित भएका छिन् । 

रेखा शर्मा 
दाङ क्षेत्र नम्बर २ मा माओबादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् । उनले  नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेकी हुन् । शर्माले २६ हजार ८८० मत प्राप्त गरेकी छन् । एमालेका पोखरेलले २६ हजार ६८७ मत प्राप्त गरेका हुन् । 

नागरिक उन्मुक्ति पार्टी 

रन्जिता श्रेष्ठ
यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट पनि एकजना महिला उम्मेदवार विजयी भएकी छिन् । कैलाली १ बाट नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामजनम चौधरीलाई १२ हजार तीन सय २३ मतले पछि पार्दै विजयी भएकी हुन् । उनले ३० हजार ४०४ मत प्राप्त गर्दा चौधरीले १८ हजार ८१ मत प्राप्त गरेका हुन् ।  

Logo