जनचाहना अनुरुप काम गर्न केन्द्रित हुनेछुः नेता सिंह

जनचाहना अनुरुप काम गर्न केन्द्रित हुनेछुः नेता सिंह


नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका नवनिर्वाचित सांसद प्रकाशमान सिंहले जनताको चाहना अनुरुप काम गर्न आफू केन्द्रित हुने बताएका छन् । 

विकास, निर्माणको काममा राजनीतिकरण नगर्ने र जनताको चाहना अनुसार आफूले काम गर्ने नेता सिंहको भनाई थियो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बीच आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उनले जनताले विकास, निर्माणको काममा राजनीतिकरण गरेको मन नपराएको उल्लेख गर्दै आफूले त्यसो नगर्ने प्रतिवद्धता समेत व्यक्त गरे । तीन वटै तहको सरकारलाई अधिकार सम्पन्न बनाएर जनताको सेवाको काममा सहजता ल्याउने गरी संघीय कानुन निर्माणमा जोड दिने योजना पनि उनले सार्वजनिक गरे । 

उनले भने, ‘राष्ट्रकै नीति निर्माण गर्ने, कानुन बनाउने काममा हामी फोकसिङ गर्छौ । तर त्यति भन्दैमा फेरी पनि तपाईहामीले एउटा के कुरा बुझ्नु प¥यो भने सांसद भनेपछि केवल कानुन निर्माण गर्ने मात्र नभईकन जुन क्षेत्रको आफूले प्रतिनिधित्व गरेको  हुन्छ, त्यो क्षेत्रको हरेक किसिमका पूर्वाधार विकासदेखि लिएर, सामाजिक विकृति हटाउनेदेखि लिएर, आर्थिक सम्पन्नता गराउनका लागि रुचिका साथ ध्यान केन्द्रित गरेर कार्य पनि त्यही अनुसार अगाडि बढाउँदा राम्रो हुन्छ भन्ने मलाई लागेको छ । र, म लामो कुरा गर्नु भन्दा पनि लोकतन्त्रको सुन्दर पक्ष नै के हो भने आवधिक निर्वाचन हो । निर्वाचनको बेलामा सबैले आ–आफ्नो घोषणा पत्र, नीति र कार्यक्रमहरु ल्याउने र जनताले म्यान्डेट दिईसकेपछि विगतमा मैले यही निर्वाचन क्षेत्रबाट पटकपटक प्रतिनिधित्व गरेँ । मैले अनुभव गरेको छु–विकास निर्माणको काममा खास गरेर जुन राजनीतिकरण गर्ने गरिएको छ । जनता त्यसमा खुशी छैनन् ।’ 

नेता सिंहले जनाको चाहना अनुसार आफूले आफ्नो निर्वाचन क्षेत्रको पूर्वाधार विकास, खानेपानीको व्यवस्थापन, बेरोजगारी समस्या समाधान, शिक्षा र स्वास्थ्यमा सुधारको कामलाई पनि प्राथमिकताका साथ अघि बढाउने दोहो-याए । त्यस अवसरमा उनले निर्वाचन स्वच्छ, स्वतन्त्र र पारदर्शी ढंगले सम्पन्न गराएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुरक्षाकर्मी र सम्बन्धित निकायलाई पनि धन्यवाद दिएका थिए । 

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले नवनिर्वाचित सांसद सिंहलाई बधाई दिँदै कार्यकालको सफलताको कामना समेत गरेका थिए ।

Logo