नयाँ सरकार गठनका लागि एमालेले पहल गर्छ -विष्णु पौडेल

नयाँ सरकार गठनका लागि एमालेले पहल गर्छ -विष्णु पौडेल


नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नयाँ सरकार निमार्णका लागि पार्टीले पहल गर्ने जनाएका छन् ।रुपेन्देही- २ बाट निर्वाचित पौडेलले सोमबार बिहान बुटवलमा स्थानीय सञ्चारकर्मीहरुमाझ संक्षिप्त कुरा गर्दै नयाँ सरकार गठनका लागि एमालेले पहल गर्ने बताएका हुन् । 

‘निर्वाचन परिणाम हेर्दा कसैलाई पनि बहुमतको सरकार निमार्णका लागि जनताले म्यान्डेट दिएको अवस्था छैन, त्यसैले राजनीतिक दलहरु मिल्नुपर्ने अवस्था देखिन्छ,’ पौडेलले भने, ‘अध्यक्षलाई निर्वाचनपछिको प्रधानमन्त्री भनेर हामीले घोषणा नै गरेर गएकाले स्वाभाविक रुपमा नयाँ सरकारका लागि एमालेले पहलकदमी गर्नेछ ।’

उनका अनुसार यसबारे अन्य दलसँग एमालेले छलफल चलाउनेछ । राष्ट्रलाई अघि बढाउने सन्दर्भमा आफ्नो पार्टीले संघीय संसद, प्रदेशसभाहरुमा पनि सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने पनि उनले पटकपटक दोहो-याए । 

साथै उपाध्यक्ष पौडेलले रुपन्देही क्षेत्र नम्बर २ का आम मतदाताको सम्मान गर्दै उनीहरुको समृद्धिका लागि आफूले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । त्यस अवसरमा उनले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि सबै स्थानीय राजनीतिक पार्टीहरुको सुझाव लिएर अघि बढ्ने बताए । 

Logo