यी बने स्वतन्त्रबाटै सांसद्

यी बने स्वतन्त्रबाटै सांसद्


मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ देशभर ८ सय ६७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । जसमध्ये पाँच जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।  विजेता ५ जनामा धेरैजसो दलका विद्रोहीका रुपमा चुनावी मैदानमा थिए । स्वतन्त्र उठेर चुनाव जित्ने ती उम्मेदवारहरु को को हुन् त ? आजको इलेक्सन एक्सप्रेसमा हामी यसैबारे चर्चा गर्नेछौं । 

योगेन्द्र मण्डल
मोरङ क्षेत्र नं. ५ बाट प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र मण्डलले जित हात पारेका छन् । उनले सत्ता गठबन्धन र जसपा गठबन्धनलाई पराजित गरेका हुन् ।स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले २१ हजार ८ सय २० मत ल्याउँदा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४ सय ८६ मत र एमाले, जसपा गठबन्धनबाट जसपाका राजकुमार यादवले १७ हजार ३ सय ९० मत पाए ।

मण्डल नेकपा एमालेमा आबद्ध थिए । एमालले जसपासँग गठबन्धन गरेर मोरङ क्षेत्र नं. ५ जसपालाई दिएपछि उनले एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी मोरङ ५ का रैथाने हुन् । तत्कालीन अमाहीवरीयाती तथा हालको धनपालथानका वासिन्दा योगेन्द्र जीवन विकास समाजका संस्थापक सञ्चालक हुन् । उनी मोरङ ५ का परिचित समाज सेवी हुन् । उनले जीवन विकास समाजको नाममा विपन्न परिवारको घर निर्माण गर्ने, रोजगारी दिने र विपन्न परिवारका सन्तानलाई गुणस्तरीय शिक्षा दिन विद्यालय स्थापना गरी कक्षा १० सम्म अंग्रेजी माध्यमबाट न्यून शूल्कमा पढाई सञ्चालन गर्दै आएका छन् । उनले सो क्षेत्रमा कृषि कार्यक्रम पनि सञ्चालनमा ल्याएका छन् । 

अमरेश कुमार सिंह
प्रतिनिधिसभा सदस्यामा सर्लाही क्षेत्र नं. ४ बाट डा. अमरेस कुमार सिंह विजयी भएका छन् । उनले २० हजार १७ मत ल्याएर निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका बागी उम्मेदवार सिंहले नेपाली कांग्रेसकै उम्मेदवार नगेन्द्र कुमार सायलाई १ हजार ७ सय ६४ मतान्तरले पराजित गरे । उक्त क्षेत्रमा नेपाली कांग्रेसले डा.सिंहलाई टिकट नदिएपछि उनले स्वतन्त्रबाट माछा चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका थिए । बागी उम्मेदवार बनेपछि नेपाली कांग्रेसले सिंहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो । उनी उक्त क्षेत्रमा दुई पटकसम्म निर्वाचित भएका थिए । दुई कार्यकालमा गरेको विकास हेरेर उनलाई मतदाताले भोट दिएको बताएका छन् । 

किरण कुमार साह
प्रतिनिधिसभा सदस्यमा रौतहट २ बाट स्वतन्त्र उम्मेदवारी दिएका किरण कुमार साह विजयी भएका छन् । साहले निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका डा.फिरदोस आलमलाई पराजित गरेका हुन् । चुनाव चिन्ह चापाकल पाएका साहले ३२ हजार ८ सय ४२ मत प्राप्त गरे । उनका प्रतिष्पर्धी आलमले २८ हजार २ सय ४८ मत ल्याएका थिए । किरण कुमार साह यसपालि पार्टी परिवर्तन गरेर नेकपा एमालेमा प्रवेश गरेका थिए । तर नेकपा एमालेले उनलाई टिकट नदिएपछि उनले पार्टी त्यागेर स्वतन्त्र उम्मेदवार बनेका हुन् । 

प्रभु साह
प्रतिनिधिसभा सदस्यमा रौतहट ३ बाट स्वतन्त्र उम्मेवारी दिएका प्रभु साह निर्वाचित भएका छन् । साहले ३२ हजार ४ सय ३७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी ओमप्रकाश जयसवालले २५ हजार २ सय मत प्राप्त गरेका थिए । उनी पछिल्लो समय माओवादी केन्द्रबाट विद्रोह गर्दै नेकपा एमाले प्रवेश गरेका थिए । एमालेमा पनि अध्यक्ष ओलीको कार्यशैलीको विरोध गर्न थालेका साहले विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

लालवीर चौधरी 
बर्दिया २ मा लालवीर चौधरी २६ हजार ५ सय २० मत ल्याएरप्रतिनिधिसभा सदस्यमा निवार्चित भएका छन् । उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका सुरेन्द्र पन्थलाई १ सय ३६ मतले पराजित गरी जित हात पारेका हुन् । उनले नागरिक उन्मुक्ति पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । यो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनामा अदालतले दाषी ठहर गरेपछि कारागारमा रहेका पूर्व सांसद रेशम चौधरीलाई उम्मेदवार बनाएको थियो । तर वर्तमान कानून बमोजिम उनको उम्मेदवारी खारेज हुने सम्भावना देखेपछि पार्टीले पहिले नै लालवीरको उम्मेदवारी दर्ता गराएको थियो । तर, लालवीर चौधरीले पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

Logo