समानुपातिकमा एमालेको निरन्तरता

समानुपातिकमा एमालेको निरन्तरता


प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड १ लाख ७१ हजार मतगणना भएको छ । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेका थिए । प्रारम्भिक विवरणमा ६१ प्रतिशत अर्थात एक करोड नौ लाख ७३ हजार २७ मत खसेकोमा अब करिब ८ लाख मतगणना बाँकी रहेको देखिएको छ ।

निर्वाचन आयोगको सूचना प्रणालीमा राखिएको तथ्याङ्क अनुसार समानुपातिक प्रणालीतर्फ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अग्रता लिइरहेको छ । हालसम्म एमालेले २७ लाख २० हजार मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ८५ हजार मत ल्याएको छ । 

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले ११ लाख ५३ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ४ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७९ हजार, जनता समाजवादी पार्टी नेपालले ४ लाख ८ हजार मत पाएका छन् । यसैगरी जनमत पार्टीले ३ लाख ७६ हजार र नेकपा एकीकृत समाजवादीले २ लाख ९० हजार मत कटाएका छन् ।

यता, प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ क्षेत्रमध्ये एक सय ६१ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । सुनसरी-४, स्याङ्जा-२, दोलखा र बाजुराको परिणाम आइसकेपछि आयोगले ‘सेन्ट लग’ सूत्रअनुसार दलहरूले बुझाएको अन्तिम बन्द सूचीबाट समानुपातिकमा पाउने स्थान निर्धारण गर्नेछ । दोलखाका १० मतदान केन्द्रमा मङ्सिर १५ गते पुनः मतदान हुँदैछ । स्याङ्जा र बाजुरामा भने निर्वाचन आयोगले मतगणनाको निर्देशन दिइसकेको छ ।

Logo