ट्रायल सेन्टर संचालकको प्रभावमा मुख्यमन्त्री पाण्डेले फेरी रोके सवारी ट्रायलमा अंक प्रणाली

ट्रायल सेन्टर संचालकको प्रभावमा मुख्यमन्त्री पाण्डेले फेरी रोके सवारी ट्रायलमा अंक प्रणाली


वाग्मती प्रदेश मुख्यमन्त्री कार्यालयले सवारी ट्रायलमा ७० अंक ल्याए पास हुने प्रणाली कार्यान्वयनमा पुनः रोक लगाएको छ । 

मुख्यमन्त्री कार्यालयको पटक–पटकको हस्तक्षेपका कारण उक्त प्रणाली लागू हुन सकेको छैन । वाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी अनुमतिपत्रसम्बन्धी नयाँ प्रणाली आइतबारदेखि लागू गर्ने तयारी पूरा भइसकेका बेला मुख्यमन्त्री कार्यालयले शुक्रबार पत्र पठाएर यसलाई तत्काल लागू नगर्न भनेको छ ।

प्रदेश यातायात मन्त्रालयले अंक प्रणाली लागू गर्न निर्देशन जारी गरेलगत्तै मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजधानीमा लाइसेन्सको परीक्षा सञ्चालन गर्ने चारवटा यातायात कार्यालय प्रमुखलाई जावलाखेलस्थित सुशासन कार्यालयमा बोलाएर शुक्रबार अंक प्रणाली लागू नगर्न भनेका थिए । मन्त्रालयले भने सातबुँदे निर्देशनसहितको पत्र पठाएर यातायात कार्यालयलाई अंक प्रणाली मिलाउन भनेको भोलिपल्ट मुख्यमन्त्री कार्यालयले रोक्ने निर्देशन दिएको हो ।

मुख्यमन्त्री पाण्डेलाई भेट्न लाइसेन्सको परीक्षा सञ्चालन गर्दै आएको यातायात कार्यालय चाबहिल कार्यालयका प्रमुख विष्णुप्रसाद भट्टराई, ठूलोभर्‍याङका सञ्जय थापा, एकान्तकुनाका राजकुमार कपाली र राधेराधेका शिवकुमार निरौला जावलाखेल गएका थिए । मुख्यमन्त्रीले तत्काल अंक प्रणाली लागू नगर्ने भनेपछि आफूहरूले मान्नैपर्ने अवस्था सिर्जना भएको उनले बताए । उक्त प्रणाली लागू गर्न तयारी पूरा नभएको भन्दै कार्यालय प्रमुखलाई मुख्यमन्त्री पाण्डेले रोक्न निर्देशन दिएका थिए । 

मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव मुकुन्द निरौलाले भने चारवटा कार्यालय प्रमुखले माइन्युट नै गरेर तत्काल अंक प्रणाली लागू गर्न नसक्ने जानकारी गराएको दाबी गरे । तर मुख्यमन्त्रीलाई भेटेका एक कार्यालय प्रमुखले भने आफूहरूले लिखित रूपमा कुनै सुझाव नदिएको बताए । ट्रायल सेन्टर सञ्चालकको दबाबका कारण मुख्यमन्त्री पाण्डेले लाइसेन्स परीक्षा लिने कार्यालयका प्रमुखलाई बोलाएर अंक प्रणाली तत्काल लागू नगर्न निर्देशन दिएको स्रोतको दाबी छ ।

ट्रायल सेन्टरले आफूखुसी सेवाग्राहीबाट आर्थिक लाभ लिइरहेकाले नयाँ प्रणाली लागू गर्न अटेर गरेको प्रदेश यातायात मन्त्रालयका अधिकारी बताउँछन् । मुख्यमन्त्री कार्यालयको अवरोध भने यो दोस्रो पटक हो । गत असोज २ मा अंक प्रणाली लागू गर्न भक्तपुरको राधेराधेस्थित यातायात कार्यालयमा उद्घाटनको तयारी सकिएपछि मुख्यमन्त्री कार्यालयले पत्र पठाएर रोकेको थियो ।

यस पटक पनि प्रदेश यातायातमन्त्री दाहालले आइतबार चाबहिल यातायात कार्यालयमा अंक प्रणाली उद्घाटन गर्ने कार्यक्रम तय गरेका थिए । दुई दिनअघि मुख्यमन्त्री कार्यालयले प्रदेश यातायात मन्त्रालयलाई पत्र पठाएर सवारी ट्रायलसम्बन्धी कार्यविधि तत्काल लागू नगर्न निर्देशन दिएको हो । यातायातमन्त्री अंक प्रणाली उद्घाटन गर्न काठमाडौं आइसकेका छन् । अंक प्रणाली प्रदेश १, गण्डकी र मधेस प्रदेशमा लागू भइसकेको छ । बाँकी स्थानमा तयारी गरिएको छ । तर वाग्मतीमा भने मुख्यमन्त्री कार्यालयले नै रोक्दै आएको छ । 

Logo