“नो नट अगेन” अभियान कति सफल, कति असफल ?

“नो नट अगेन” अभियान कति सफल, कति असफल ?


यसपटकको निर्वाचनमा नयाँ अभियानका रुपमा आएको नो–नट अगेनले निकै चर्चा पायो । यसले निर्वाचनमा यति नै प्रभाव पार्‍यो भनेर भन्न नसकिएपनि नयाँ युवा उम्मेदवार उठाउन दलहरुलाई चर्को दवाव दिनभने धेरै हदसम्म सफल भएको टिप्पणी हुन थालेको छ । २०४८ सालदेखि एउटै व्यक्ति बारम्बार चुनाव जितेर सत्तामा पुगे पनि देशको समृद्धिमा उसको खासै भूमिका नभएको विचार मतदाताले मतमार्फत उजागर गरेका छन् । 

के हो त नो–नट अगेन अभियान ? 
पछिल्लो समय राजनीतिमा विकृति बढ्दै गएको धेरैले बताउन थालेका छन् । आम जनताले कष्टकर जीवन यापन गर्नुपरेको छ । जनता महंगी, बेरोजगारी, असुरक्षा जस्ता समस्याको मारमा परेका छन् । लाखौं युवाहरु विदेश पलायन हुनुपरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन–२०७९  केही छिटफुट घटना बाहेक शान्तिपूर्ण भयो । निर्वाचनको नतिजा पनि आइसकेको छ । निर्वाचनमा पुराना पार्टी, नयाँ पार्टी तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदान थिए । निर्वाचनको मत परिणाम अनुसार चुनावमा होमिएका नयाँ उम्मेदवारहरु र नयाँ पार्टीले अपेक्षा गरिएभन्दा बढी सफलता हासिल गरेका छन् । पुराना दल र उम्मेदवारले यसपटक मतदातालाई आकर्षण गर्न भने सकेको देखिएन ।

पटक पटक देशको नेतृत्व लिने तर देश र जनताका पक्षमा खासै काम नगर्ने पाका पुस्ताका नेताहरुलाई स–सम्मान बिदा गरी युवा नेतृत्वलाई स्थापित गर्नुपर्छ भनेर चलाइएको अभियान हो नो नट अगेन । 

आम निर्वाचनको मिति घोषणा गर्नु अघि सुरु भएको नो नट अगेन अहिले सामाजिक सञ्जाल फेसबुकका थुप्रै पेज र ग्रुपहरुमा फैलिएको छ । नो नट अगेन कसले सुरु गरेको भन्ने स्पष्ट नभएपनि नेपालको राजनीतिमा नयाँ शक्तिलाई स्थापित गर्नेगरी आएको देखिएको छ । अहिले देशका विभिन्न ठाउँका व्यक्ति नो नट अगेन अभियनमा आवद्ध छन् । ती पेजहरुमापटक पटक प्रधानमन्त्री भएर पनि देशको विकास गर्न नसकेको भन्दै ६ जना पूर्वप्रधानमन्त्रीको फोटोमा नो नट अगेन ह्यासट्यागसहितका पोष्ट गरेको भेटिन्छ । पछि अन्य नेताहरुको विरुद्धमा पनि अभियान लक्षित देखिएको छ । पटक पटक मन्त्री र सांसद भएर देशको विकास नगरी सत्ता र शक्तिको दुरुपयोग गर्ने र विभिन्न प्रकरणमा मुछिएका नेताहरुलाई वहिष्कार गर्नुपर्छ भन्दै आम जनतामा सचेतना जगाउन उक्त अभियान चलाएको बताइएको छ । 

अभियान कति सफल, कति असफल ?
अभियान आफैमा विवादमुक्त रहन भने सकेन । तरपनि मंसिर ४ मा सम्पन्न आम निर्वाचनको मतपरिणाम हेर्ने हो भने नो नट अगेन केही हदसम्म सफल भएको विश्लेषण गरिएको छ । सूदुरपक्षिम प्रदेशको डडेलधुरा जिल्ला एक विकट ठाउँको रुपमा चिनिन्छ । तर, पनि प्रधानमन्त्री शेरबहादरु देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले १३ हजार ४२ मत ल्याउनुलाई अभियानको आंशिक सफलता मानिएको छ । यस्तै, काठमाडौं उपत्यकाका ५ वटा क्षेत्रमा केही महिना अघिमात्र गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले जित निकालेको छ ।यस्तै, चितवनमा पनि रास्वपाका २ उम्मेदवारले जित्नुमा नो नट अगेनको प्रभाव रहेको धेरैको अनुमान छ । 

देशमा अहिलेसम्म राज गर्दै आएका शीर्ष नेता तथा मन्त्रीहरुले पनि यसपालीको चुनावमा हार बेहोरेका छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले यस पालीको निर्वाचनमा हार बेहोरेका छन् । 

अर्कोतर्फ, विगतमा धेरै पटक सांसद र मन्त्री भएकाहरुले पनि यसपालीको निर्वाचनमा पराजित हुनुपरेको छ । जसमा बहालवाला मन्त्री जीवनराम श्रेष्ठ, उर्जा मन्त्री पम्फाभुसाल, राज्यमन्त्री उमेश श्रेष्ठ, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्वस्वास्थ्य मन्त्री विरोध खतिवडा, पूर्वस्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले पनि चुनाव हारेका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा पनि पराजित भएका छन् ।  

अब जनता सचेत हुन् थालेका छन्, दलहरु गलत मार्ग छोडेर सही बाटो हिडून् भन्ने अभियानको उद्धेश्य रहेको बुझ्न सकिन्छ । यसपाली चुनाव जितेर पनि विगतमा जस्तो विकासको नाममा जनताको आँखामा छारो हाल्ने काम गर्नेको नियति पनि यस्तै हुनेछ भनेर सचेतगराइएको हो । 

निर्वाचनको बेला पुराना र देश विकास नगर्ने नेताहरुलाई लक्षित गरेर चलाएको अभियन निर्वाचनको मतपरिणाम हेर्ने हो भने पहिलो प्रयासमै अभियानले सकारात्मक परिणाम दिएको अनुमान लगाउन सकिन्छ । यसले गर्दा धेरै युवा र सक्षम उम्मेदवारहरु निर्वाचित भएर संसद पुगेका छन् । प्रमुख दलका नेताहरुले आफूले जे गरेपनि हुन्छ भन्ने जुन भ्रम राखेका थिए अब त्यसबाट मुक्त नभए वा नसच्चिने हो भने अहिलेका प्रमुख भनेर चिनिने दलहरु अर्को निर्वाचनमा पछाडि पर्न सक्ने स्पष्ट संकेत अभियानले दिएको छ । सरकारमा रहेकाहरुले कहिल्यै पनि जनताको गाँस, बास र कपास, स्वास्थ्य, शिक्षा रोजगारी जस्ता अति आवश्यक कुराहरुमा देखिएको समस्या समाधान गरेनन् । फलस्वरुप जनताले निर्वाचनद्धारा सजाय दिन सुरु गरिसकेको यस पालीको निर्वाचन नतिजाबाट अनुमान लगाउन सकिन्छ ।

 

Logo