‘प्रधानमन्त्रीको ध्यान कोरोना नियन्त्रणमा भन्दा सत्ता जोगाउनमा बढी देखियो’ : कांग्रेस सह-महामन्त्री महत (भिडियोसहित)

‘प्रधानमन्त्रीको ध्यान कोरोना नियन्त्रणमा भन्दा सत्ता जोगाउनमा बढी देखियो’ : कांग्रेस सह-महामन्त्री महत (भिडियोसहित)


काठमाडौं ।

नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले क्रियाशिल सदस्यहरुको संख्या नतोकिंदासम्म महाधिवेशन सम्बन्धी आचारसंहिता नलाग्ने बताएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले केही विभागमा नेतृत्व गठन गरेसँगै विभिन्न नेताहरुले आचारसंहिताको कुरा उठाएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले निर्वाचनको प्रक्रिया सुरु भइसकेकाले आचारसंहिता लागू हुने तर सभापति देउवाले विभागको नेतृत्व गठन गरेर आचारसंहिता विपरित काम गरेको आरोप लगाएको छ । सोही विषयमा कुराकानी गर्दै सह–महामन्त्री महतले वडाहरुले सदस्यहरुको नामावली बुझाएपछि सभापतिले सार्वजनिक नगर्दासम्म आचारसंहिता नलाग्ने बताएका हुन् ।

नेता महतले पार्टी सभापति देउवा कुनै पनि किसिमले निरंकुश नभएको समेत प्रष्ट पारे । विधानमा भएको व्यवस्था अनुरुप नै सभापतिले विभाग गठन गरेको उनले बताए । कसैलाई नसोधि, केन्द्रीय समितिमा पनि छलफल नगरी विभागहरुको गठन गर्ने अधिकार सभापतिसँग भए पनि नेताहरुको समझदारी नभइकन बनाउँदिन भन्दा ढिलो भएको बताए । सबैको समझदारी नभइकन गठन नगर्ने बताउने नेतालाई निरंकुश मान्न नसक्ने उनले बताए ।

उनले विभाग गठनमा कुनै विवाद गर्नुपर्ने अवस्था नभएकाले यसलाई अधिवेशन लागेको भनेर बुझ्नु पर्ने तर्क गरे । सबै पक्षको सहभागिता हुने गरी नाम दिएमा चुनावको लागि प्रभाव पर्ने केही पनि कुरा नहुने उनले बताए । पार्टीमा नचिनेको कार्यकर्ता र नचिनेको नेता कोही पनि नभएकाले कुनै एउटा विषयवस्तुलाई अतिशक्तिपूर्ण रुपमा प्रस्तुत गर्न नुहने बताए ।

बैठकमा केही विषय नउठाउने तर बाहिर चर्को भाषण गर्दै हिंडने प्रवृति पार्टीका केही नेताहरुमा देखिएको महतले बताए । त्यसैले यो विषयलाई ठूलो विषय बनाउने भन्दा पनि सबै एकीकृत भई राष्ट्रिय विषयहरुमा एकमत भए सरकारको बदमासीलाई पर्दाफास गर्ने र आन्तरिक रुपमा एकजुट भएर नेतृत्व चयन गर्नेतर्फ केन्द्रीत हुनुपर्ने बताए ।

उनले कोभिड १९ संक्रमणको उच्च जोखिमको अवस्थामा पनि निर्वाचनलाई उच्च प्राथमिकतामा राखेर फागुनमा महाधिवेशन गर्ने समय निर्धारण गरिएको बताए । कोभिडका कारण अधिवेशन गर्न चुनौति रहेको र संक्रमणको अवस्था हेरेर अधिवेशन हुने नहुने निश्चित गरिने बताए । अधिवेशन नगर्नका लागि कुनै बाहनाबाजि गर्नु उचित नहुने पनि उनले बताए ।

फरक प्रसंगमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको कांग्रेसले ठहर गरेको उनले बताए । सरकारले लकडाउन गर्ने कुरालाई नै उपलब्धीको रुपमा लिएकाले अहिलेको स्थिति आएको महतले बताए । उनले भने, ‘सरकारले लकडाउन गर्ने भन्दियो त्यसलाई नै उपलब्धि ठान्यो । लकडाउनको अवधिलाई तयारीको अवधिमा लिनु पर्ने समयको रुपमा प्रयोग गर्नु पर्ने सरकारले त्यो गरेन । त्यो गरेको भए अहिलेको यो स्थिति संक्रमण विस्तारित हुने स्थिति आउँदैन थियो ।’

विदेशबाट सीमामार्फत आउने नेपालीको व्यवस्थापन गर्न नसक्दा समुदायमा संक्रमण फैलने स्थिति आएको बताए । सरकारले लकडाउनको समयलाई शक्ति संघर्ष, आन्तरिक सत्ता संघर्षमा खर्च गरेकाले पनि अहिलेको अवस्था आएको महतले बताए । सरकारको ध्यान कोरोना नियन्त्रणमा भन्दा पनि भ्रष्टाचारको अवसरका रुपमा रहेकाले समस्या आएको उनले बताए । लकडाउन खोल्ने र खोलेपछि बढ्छ भन्ने कुरामा सरकारले ध्यान नदिंदा पछिल्लो समयमा समुदायस्तरमा संक्रमणको अवस्था देखिएको बताए । सरकार संक्रमण बढ्यो भन्ने भन्दा पनि राजस्व घट्यो भन्नेमा बढी चिन्तित देखिएको उनले बताए ।

सरकारले संक्रमण समुदायमा फैलन नदिनका लागि कन्ट्याक्ट ट्रेसिङ गर्ने र परीक्षण बढाउने काममा ध्यान नदिएको बताए । त्यस्तै अस्पतालको प्रवन्ध बढाउने, आइसोलेसनको संख्या थप्ने, जनशक्तिको व्यवस्थापन गर्ने विषयमा ध्यान नदिएकाले जटिलता बढेको बताए । उनले राज्यको संयन्त्र आफूहरुसँग नभए पनि भाइरस संक्रमणको जोखिमका विषयमा कांग्रेसले जनचेतना फैलाउने काम गरिरहेको बताए । उनले सरकारबाट कुनै आशा नरहेकाले आफ्नो सुरक्षा आफै गर्नै समेत आम नागरिकलाई आग्रह गरे ।

कोभिड रोकथामका लागि सर्वदलीय संयन्त्र निर्माण गर्ने विषयमा सरकारले नै चासो नदिएको उनले बताए । संयन्त्र निर्माण भएपछि पनि सरकारी संयन्त्रमार्फत नै काम गर्नुपर्ने भएकाले सरकारले आवश्यक नठानेकाले गठन नभएको र अब गठन गर्ने विषय ढिलो भइसकेको बताए । सबै काम विग्रिएपछि सर्वदलीय संयन्त्र गठन गर्ने कुरा उपयुक्त नभएको पनि महतले बताए ।

उनले कांग्रेस भित्रको आन्तरिक समस्याले कोरोना रोकथाम तथा नियन्त्रणमा कुनै असर नपरेको बताए । पार्टी सञ्चालन गरिरहेको रुलिङ पार्टी भित्रको आन्तरिक किचलोको कारण कोरोना रोकथामका लागि पर्याप्त काम हुन नसकेको बताए । महतले प्रधानमन्त्री केपी शर्मा ओली नै सत्ता जोगाउन ध्यान दिएकाले यस तर्फ काम गर्न नसकेको बताए । हेरौं भिडियोमा :

 

Logo