कोरोना नियन्त्रणमा सरकारको जस्तै विपक्षी दलहरुको पनि भूमिका शून्य

कोरोना नियन्त्रणमा सरकारको जस्तै विपक्षी दलहरुको पनि भूमिका शून्य


काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना गर्ने विपक्षी दलहरुले पनि रचनात्मक काम गर्न सकेका छैनन् । कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारलाई दबाब दिन बाहेक विपक्षी दलहरुले जनस्तरमा प्रभाव पार्ने ढंगले रचनात्मक काम गर्न सकेका छैनन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले काम गर्न नसकेको भन्दै विपक्षी दलहरुले चर्को आलोचना भने गरिरहेका छन् ।

केही युवाहरु सतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, क्वारेन्टाइन व्यवस्थापन गर्नुपर्ने माग राख्दै अनशनमा समेत बसेका छन् । यद्यपी विपक्षी दलहरुले सरकारलाई दबाब दिन बाहेक क्वारेन्टाइन व्यवस्थापन, राहत वितरण र उद्दारका काममा आफ्ना नेता कार्यकर्ताहरुलाई परिचालन गर्न सकेका छैनन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुरुआती दिनमा मिडियामार्फत कोरोना संक्रमणबाट जोगिनका लागि जनचेतनामुलक सन्देश जारी गरेपनि ठोस र सशक्त कदम भने चाल्न सकेका छैनन् ।
तर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने पार्टीले आफ्नो ठाउँबाट आवश्यक पहल र सरकारलाई सहयोग गरिरहेको दाबी गर्छन ।

उनले जनतालाई सुसूचित गराउन कार्यकर्ता परिचालन गरिएको, स्वास्थ्य सामग्री वितरण गरेको, पार्टीकातर्फबाट सरकारको खातामा ५० लाख रुपैयाँ नगद जम्मा गरेको बताए । सत्तामासँगै नभएपनि संकटमासँगै रहेको सन्देश दिँदै सरकारका कमि कमजोरी औलाउँदै पार्टी अगाडि बढेको उल्लेख गर्दै शर्माले सांसदहरुको तर्फबाट समेत १५ दिनको तलब बराबरको रकम सरकारी खातामा जम्मा गरेको फेयरिस्त सुनाए ।

त्यस्तै केही समयअघि मात्रै पार्टी एकता गरिएको जनता समाजवादी पार्टी (जसपा) ले समेत सरकारलाई नैतिक रुपमा दबाब दिन बाहेक केही काम गर्न सकेको छैन । जसपाका कार्यकारिणी सदस्य केशव झाले वडा स्तरसम्म नेता कार्यकर्ता परिचालन गरी सूचना प्रवाह, राहत वितरणका काम पार्टीले गरेको दाबी गरे । राजनीतिक पार्टीले सरकारले जसरी धेरै काम गर्न नसक्ने भए पनि आफ्नो क्षमता अनुसार काम गरेको उनको भनाइ छ ।

लकडाउन सुरु हुनुभन्दा करिब २ हप्ता अगाडि मात्रै पार्टी एकता गरेर गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवस्था पनि त्यस्तै छ । फागुन २८ मा पार्टी एकता गरेको राप्रपाले एकतालाई पूर्णता दिन नपाउँदै लकडाउन सुरु भयो । लकडाउनको समयमा पनि सरकारलाई पटक पटक दबाब दिने काम पार्टीका अध्यक्षहरुले गरेको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए ।

शनिबारसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ । आजसम्म ७३ जनाको कोरोनाकै कारण ज्यान गएको छ । अहिले ६ हजार २ सय ६ जना संक्रमितले देशभरका विभिन्न अस्पतालहरुमा उपचार गरी रहेका छन् । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा कन्ट्रयाक ट्रेसिङमा समस्या देखिएको छ । स्वास्थ्य सेवा विभाग अन्तगर्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनशक्ति अभावका समयमा कन्ट्रयाक टे«सिङ गर्न नसक्दा संक्रमितहरु खुलेयाम हिँडिरहेका छन् । यस्तो अवस्थामा विपक्षी दलहरुले आफ्ना कार्यकर्ताहरुलाई स्वयमसेवकको रुपमा कन्टयाक ट्रसिङमा सहयोग गर्न सक्ने देखिन्छ । तर यसतर्फ कुनै पनि दलले अहिलेसम्म चासो देखाएका छैनन् ।

Logo