उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिटको सुनुवाइ हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा परेको छ ।
उक्त रिटको सुनुवाइ पेसी सूचीको १ नम्बरमा परेको छ । कार्कीका साथ इजलासमा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र अनिलकुमार सिन्हा रहेका छन् । नागरिकता तथा राहदानीको विषय उठाउँँदै परेको रिटमा आज निवेदक र प्रतिवादी दुवै पक्षबाट बहस हुनेछ । बहसपछि इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निर्णय गर्नेछ । अन्तरिम आदेश जारी भएमा लामिछाने सांसदका साथै मन्त्री पद समेतबाट पन्छिनुपर्नेछ । आदेश जारी नभएको खण्डमा उनको पद यथास्थितिमै रहनेछ ।
यसअघि ६ पुसमा लामिछानेविरुद्ध परेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।अमेरिकाको नागरिकता लिएपछि नेपाली नागरिकता स्वतः खारेज भएको र अमेरिकाको नागरिकता त्यागेर नेपाली नागरिकता नलिई खारेज भएको पुरानै नागरिकताबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकाले लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको हो । अधिवक्ता युवराज पौडेल र अधिवक्ता रविराज बसौलासमेतले राष्ट्रिय स्वतन्त्र पार्टीसमेतलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।
प्रतिक्रिया