सिडिओहरुलाई गृहमन्त्री लामिछानेकाे निर्देशन- ‘आदेश होइन, कानुनको पालना गर्नुस्’

सिडिओहरुलाई गृहमन्त्री लामिछानेकाे निर्देशन- ‘आदेश होइन, कानुनको पालना गर्नुस्’


उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् । 

गृहमन्त्री भएपछि पहिलोपटक चितवन पुगेका लामिछानेले भरतपुर विमानस्थमा सञ्चारकर्मीहरुसँग सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कसैको पनि प्रभावमा नपरी काम गर्नका लागि निर्देशन दिएको जानकारी गराएका हुन् । “सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कसैको पनि प्रभावमा नपरी काम गर्नका लागि निर्देशन दिएको छु”, उनले भने, “कानुनको पालना गर्न र गल्ती काम नगर्न सचेत गराएको छु ।” उनले जे सही हो त्यही मात्र काम गर्न र आदेश होइन कानुन पालना गर्नुहोस् भनि सुरक्षा संयन्त्रलाई निर्देशन दिएको जानकारी दिए । 

गृहमन्त्री लामिछानेले कुनै पनि राजनीतिक दलको दबाबमा नपरी काम गर्नु समेत निर्देशन दिएको स्पष्ट पारे । “अपराध अनुसन्धानमा राजनीतिक दलले बाधा पु-याउने वा मेरो मान्छे छोडिदेउ जस्ता कुरा नसुन्नुहोस्, त्यसरी दबाब दिएको प्रमाण ल्याएमा त्यस्ता मानिसलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको छु”, उनले भने । साथै नेपाल प्रहरी संगठनभित्र देखिएका समस्या समाधान गर्दै विधिको शासन कायम गर्नका निमित्त आफूले योजना बनाइरहेको पनि उनले बताए ।  

Logo