टुँडीखेलमा आजदेखि माघी महोत्सव

टुँडीखेलमा आजदेखि माघी महोत्सव


थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्षको अवसरमा आजदेखि टुँडीखेलमा महोत्सव आयोजना गरिदै छ ।

थारू कल्याणकारिणीसभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा शनिबार र आइतबार टुँडीखेलमा सो महोत्सव  मनाउन लागिएको हो । महोत्सवमा थारू सांस्कृतिक झाँकी, -याली, विभिन्न परिकार, हस्तकला, परम्परागत सामान, पुस्तक प्रदर्शनी एवं बिक्री, मोटरसाइकल -याली र विभिन्न क्षेत्रमा विशेष योगदान पु-याएका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम छ ।

महोत्सवमा एक सय विविध कक्ष राखिएकोमा ८० वटा मात्रै ‘बुकिङ’ भएको थारू राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीले जानकारी दिए । यस पटक थारू जातिले माघी पर्वमा खाने विशेष खानाका परिकार राखिँदैछ । ढिक्री, अन्डिक भात, खिचरी, तिलको लड्डु, लाईमुरी, भुजा, जाँडको झोल, दारू, केराको तरुवा, सक्खरखण्ड, खरिया सुँगुर/बङ्गुरको मासु र परेवाको मासु परिकारका रूपमा रहने छन् ।

त्यसैगरी माछा, घोङ्घी, गङ्गटो, सिधरा, आलु सिन्की, बयरको चटनी, बरिया, चामलको गुरी, काथ्या, अन्डिक, तेलपौर, झझ्रा रोटीलगायत परिकार पनि राखिने भएको छ । महोत्सवमा थरूहट झापादेखि कञ्चनपुरसम्मको पौराणिक सांस्कृतिक नृत्य र गीत पनि प्रस्तुत हुँदैछ । मघौटा, सखिया, हुर्दगङ्वा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रङ्हवा नृत्यसहित गीत प्रस्तुत गर्ने तयारी छ ।

माघी पर्वलाई थारू समुदायले बरका तेउहार अर्थात ठूलो पर्वका रुपमा मनाउँछन् । माघे सङ्क्रान्तिको अघिल्लो दिन थारू समुदायमा जिता मार्ने अर्थात् सामूहिक रुपमा सुँगुर, बङ्गुर मारेर खाने गरिन्छ । आज रातभर जाग्रम बसेर भजन कीर्तन गर्ने चलन छ । माघीका दिन बिहानै नजिकैको खोला नदीमा गएर नुहाउने गरिन्छ । नुहाएपछि आफूभन्दा ठूला मान्यजनसँग आशीर्वाद लिने र साथीभाइसँग अङ्कमाल गरी माघीको शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

थारू समुदायले माघीमै वर्ष दिनको योजना बनाउने गर्छन् । माघीमा बनाएको योजनाअनुसार नै परिवारका सदस्यहरु सबै आ–आफ्नो काममा लाग्छन् । घर छुट्टिने, खेतबाली लगाउने निर्णय पनि माघीमै गरिन्छ । माघीमा गाउँका सबै जना जम्मा भएर वर्षदिनका लागि बड्घर अर्थात गाउँको अगुवा, चौकीदार र गुरुवा चयन गर्ने गरिन्छ । माघीमा चयन गरिने अगुवाले वर्ष दिनभरि गाउँको विकास निर्माण, सुरक्षा, सूचना, कुलोपानी र पूजाआजामा अगुवाइ गर्ने गर्छन् । माघीको अवसरमा ठाउँठाउँमा मेला महोत्सव पनि हुने गर्छ ।

Logo