अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड काठमाडौंमा

अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड काठमाडौंमा


संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल भ्रमणमा आएकी छन् । आइतबार साँझ उनी काठमाडौंमा अवतरण गरेकी हुन् । 

दुई दिने भ्रमणका क्रममा नुल्यान्डले नेपालमा उच्च राजनीतिक भेटवार्ता गर्नुका साथै विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन समेत गर्ने बताइएको छ । उनले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेतालाई भेट्ने कार्यक्रम छ । 

उपमन्त्री नुल्यान्डले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्रीका रूपमा शपथ लिएकी थिइन् । त्यसअघि उनी वासिङ्टन डीसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत थिइन् । 

नुल्यान्ड ब्रुकिङ्स इन्स्टिच्युसनमा गैर–आवासीय सिनियर फेलो, येल विश्वविद्यालयमा बृहत् रणनीतिकी विशिष्ट अभ्यासकर्ता र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीको सञ्चालक समितिकी सदस्य पनि रहिसकेकी छन् । उनी अमेरिकी राष्ट्रपति ओबामा र विदेश मन्त्री केरी मातहत सन् २०१३ को सेप्टेम्बरदेखि २०१७ को जनवरीसम्म युरोपेली तथा युरेसियन मामिलासम्बन्धी सहायक विदेश मन्त्रीका रूपमा सेवारत थिइन् । उनी अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनको कार्यकालताका विदेश मन्त्रालयकी प्रवक्ता थिइन् भने राष्ट्रपति जर्ज डब्ल्यु बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नेटोका लागि अमेरिकी राजदूत थिइन् ।

Logo