नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीलाई आज जिल्ला अदालत कैलालीमा बुझाइने

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीलाई आज जिल्ला अदालत कैलालीमा बुझाइने


कैलाली निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीलाई आज जिल्ला अदालतमा बुझाउने तयारी गरिएको छ।

सार्वजनिक सम्पत्तिमा आगजनीको मुद्दामा दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीलाई प्रहरीले बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ गरेको थियो। प्रहरीले खोजी गरिरहेको सूचना पाएपछि उनी बाँकेमा आएर लुकेका थिए। गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले बताए।

उनलाई बिहीबार बाँकेबाट विमानमार्फत् काठमाडौँ ल्याएर काठमाडौँबाट विमान मार्फत् नै धनगढी पुर्‍याइएको छ। बिहीबारदेखि चौधरी जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका छन्। चौधरीसँग नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवम् सांसद रञ्जिता श्रेष्ठ चौधरी पनि कैलाली पुगेकी छन्।

२०६६ सालमा भएको थरुहट आन्दोलनको क्रममा बन्दको अवज्ञा गरिएको भन्दै लु २ त २११ नम्बरको ट्याक्टरमा बन्दकर्ताले आगजनी गरेका थिए। ट्याक्टरमा आगजनी गरिएको भन्दै ट्याक्टर धनी साबिककै बलिया–५ का महादेव बजगाईँले २०६७ भदौ ५ मा चौधरीसहित तीन जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। प्रतिवादीको अनुपस्थितिमा २०७० वैशाख १० गते अदालतले फैसला गरेको थियो। अदालतले साबिकको बलिया गाविस–३ का अरुणकुमार चौधरी, सोही ठाउँका परशुराम चौधरी र कोटातुल्सीपुर गाविस–१ वीरबहादुर चौधरीलाई जनही छ महिना कैद सजायसहित आठ लाख १९ हजार ४२३ रुपियाँ बिगो तिर्नु पर्ने फैसला सुनाएको थियो।

१० वर्ष अगाडि नै अदालतले फैसला गरे पनि चौधरीसहित कसुरदार तीनै जनालाई पक्राउ नगरी फरार सूचीमा राखिएको थियो। यसबिचमा चौधरीले कैयौँ पटक चुनावसमेत लडिसेका छन्। चौधरी गएको प्रतिनिधि सभा निर्वाचनमा आफैं मनोनयन दर्ता गर्नेदेखि प्रचार–प्रसारमा सहभागी थिए। तर, फरारको सूचीमा रहेका उनलाई त्यतिबेला प्रहरीले पक्राउ गरेको थिएन। नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलाली क्षेत्र नं. २ बाट सांसदमा विजयी चौधरीले एमालेका झपटबहादुर रावल र गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका भगत बडुवाललाई पराजित गरेका थिए।

Logo