नागरिक उन्मुक्तिका सांसद चौधरी जेल चलान

नागरिक उन्मुक्तिका सांसद चौधरी जेल चलान


कैलाली निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन्।

१३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएका चौधरी शुक्रबार जेल चलान भएका हुन्। बिहीबार बाँकेमा पक्राउ परेका उनलाई प्रहरीले शुक्रबार बिहानै जिल्ला अदालत कैलालीमा पेश गरेको थियो। अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागार चलान भएका छन्।

२०६६ सालमा भएको थरुहट आन्दोलनको क्रममा बन्दको अवज्ञा गरिएको भन्दै लु २ त २११ नम्बरको ट्याक्टरमा बन्दकर्ताले आगजनी गरेका थिए। ट्याक्टरमा आगजनी गरिएको भन्दै ट्याक्टर धनी साबिककै बलिया–५ का महादेव बजगाईँले २०६७ भदौ ५ मा चौधरीसहित तीन जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। प्रतिवादीको अनुपस्थितिमा २०७० वैशाख १० गते अदालतले फैसला गरेको थियो। अदालतले साबिकको बलिया गाविस–३ का अरुणकुमार चौधरी, सोही ठाउँका परशुराम चौधरी र कोटातुल्सीपुर गाविस–१ वीरबहादुर चौधरीलाई जनही छ महिना कैद सजायसहित आठ लाख १९ हजार ४२३ रुपियाँ बिगो तिर्नु पर्ने फैसला सुनाएको थियो।

१० वर्ष अगाडि नै अदालतले फैसला गरे पनि चौधरीसहित कसुरदार तीनै जनालाई पक्राउ नगरी फरार सूचीमा राखिएको थियो। यसबिचमा चौधरीले कैयौँ पटक चुनावसमेत लडिसेका छन्। चौधरी गएको प्रतिनिधि सभा निर्वाचनमा आफैं मनोनयन दर्ता गर्नेदेखि प्रचार–प्रसारमा सहभागी थिए। तर, फरारको सूचीमा रहेका उनलाई त्यतिबेला प्रहरीले पक्राउ गरेको थिएन। नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलाली क्षेत्र नं. २ बाट सांसदमा विजयी चौधरीले एमालेका झपटबहादुर रावल र गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका भगत बडुवाललाई पराजित गरेका थिए।

Logo