गृहका लागि रास्वपाले दिएको अल्टिमेटम आज सकिँदै, के गर्लान् प्रधानमन्त्री ?

गृहका लागि रास्वपाले दिएको अल्टिमेटम आज सकिँदै, के गर्लान् प्रधानमन्त्री ?


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको अल्टिमेटमा शनिबार सकिँदै छ ।

गृह मन्त्रालय आफ्नो पार्टीलाई पुनः दिनका लागि प्रधानमन्त्री प्रचण्डले आनाकानी गरेपछि सरकारमा बस्ने वा नबस्ने भन्नेबारेमा रास्वपाको बिहीबार बसेको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिनसम्म प्रतिक्षा गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रास्वपाका सभापति रवि लामिछानको फोन वार्ता सकारात्मक भएपछि अन्ततः दुई दिन कुर्ने निर्णय गरिएको प्रवक्ता मुकुल ढकालले बैठकपछि जानकारी दिएका थिए ।

सर्वोच्च अदालतले माघ १३ मा लामिछानेको नेपाली नागरिकताको प्रमाणपत्रलाई अवैध ठहर गर्दै उनको मन्त्री र सांसदबाट पदमुक्त गरेको थियो । यसपछि माघ १५ मा जिल्ला प्रशासन कार्यालयमा अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएरर लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्रलाई पुनः प्राप्त गरेका थिए । त्यसपछि उनले पुनः आफूलाई उप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डसहित सत्तारुढ दलका शीर्षनेताहरुसँग लविङ गरिरहेका छन् ।

प्रमुख सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओली लामिछानेलाई गृहमन्त्री बनाउन सकारात्मक देखिए पनि प्रधानमन्त्री प्रचण्डले अस्वीकार गर्दै आएका छन् । जसकारण रास्वपाले गत बिहीबार दुईदिने अल्टिमेटम दिँदै प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएको हो । उक्त अल्टिमेटम शनिबार सकिँदै छ ।

यता लामिछानेको नेपाली नागरिकता अवैध ठहर गर्ने सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउन्जेल फर्कन आग्रह गरेका प्रधानमन्त्री प्रचण्डले रास्वपाको मागबारे कुनै निर्णय गरिसकेका छैनन् । प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृहमन्त्रालय दिन अस्वीकार गरे पार्टीको बैठक बसेर सरकारमा रहने वा नरहने निर्णय गरिने रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

Logo