सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक समितिमा पठाउनुपर्छ -प्रमुख सचेतक गिरी

सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक समितिमा पठाउनुपर्छ -प्रमुख सचेतक गिरी


नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक संसदीय समितिमा पठाएर छलफल गर्नुपर्ने बताएका छन् । 

शनिवार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक गिरीले यस्तो बताएका हुन् । उनले संसदमा पेस भइसकेपछि संसदमा विभिन्न ढंगले विधेयकमा छलफल हुने र संशोधन हुने बताए । 

उनले यसलाई टुंगोमा पु-याउन भने संसदीय समितिमा नै छलफल गर्नुपर्ने आवश्यक्ता औंल्याए । विधेयकमा अन्तर्राष्ट्रिय समुदायले नियालीरहेको भन्दै उनले संसदबाट हतारका साथ पारित गरेर जानु नहुने बताए । 

प्रमुख सचेतक गिरीले आईतवार बस्ने प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावली पेस गर्ने सहमति भएको बताए । उनले बैठकमा नेकपा एमालेले प्रमुख प्रतिपक्षको रुपमा आफूहरुको सिट व्यवस्थापन हुनुपर्ने माग गरेको बताए । सो विषयमा आईतवार साढे १० बजे काँग्रेसले बैठक बसेर यस बारेमा आफ्नो धारणा राख्ने काँग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकमा बताएको जानकारी गराए । 

प्रमुख सचेतक गिरीले प्रतिनिधि सभा नियमावली अहिलेसम्म संसदमा पेस हुन नसक्दा संसदीय समितिहरु र अन्य काम कारबाहीहरु अघि बढ्न नसकेको बारेमा पनि बैठकमा छलफल भएको बताए । उनले संसदीय गतिविधिलाई मध्यनजर गरी आईतवारको संसद बैठकमा प्रतिनिधि सभा नियमावली पेस गर्ने सहमति भएको बताए । 

प्रमुख सचेतक गिरीले प्रतिनिधि सभा नियमावली पारित नहुँदा महत्वपूर्ण विधेयकहरु अड्किएकाले यसलाई चाँडो भन्दा चाँडो अघि बढाउनुपर्ने बताए । 

Logo