नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बेपत्ता पारिएका व्यक्ति र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक कुनै एक राजनीतिक दलको मात्रै विषय वस्तु नरहेको बताएका छन् ।
शनिवार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय दलका प्रमुख सचेतक र सचेतकहरुसँग गर्नुभएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले यस्तो बताएका हुन् । उनले बैठकमा बेपत्ता पारिएका व्यक्ति र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक कुनै एक राजनीतिक दलको मात्रै नभइ राष्ट्रिय विषय भएकाले सबै राजनीतिक दलहरु मिलेर अघि बढाउन आवश्यक रहेको बताए ।
उनले बैठकमा संसदलाई बढी भन्दा बढी बिजनेस दिनुपर्ने कुरामा छलफल भएको बताए । उनले आईतवार बस्ने संसदको बैठकमा बेपत्ता, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक, संवैधानिक परिषद्को कार्यविधि सम्बन्धी विधेयक प्रस्तुत हुने बताए ।
प्रमुख सचेतक लेखकले संविधानले नै गठबन्धनको संस्कृतिलाई नै अघि बढाउनुपर्ने कुरामा जोड दिएकाले सोही अनुसार गठबन्धन अघि बढ्ने बताए । उनले गठबन्धनको अर्को कुनै विकल्प नरहेको जिकिर गरे ।
प्रकाशित: ४ चैत २०७९ १८:२४ शनिबार