प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन गठबन्धन सकारात्मक -उपसभापति खड्का

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन गठबन्धन सकारात्मक -उपसभापति खड्का


नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेबारेमा १० दलीय गठबन्धनका नेताहरु सकारात्मक रहेको बताएका छन् । 

शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभापति खड्काले यस्तो बताएका हुन् । विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको उनकाे भनाई थियाे ।

उनका अनुसार बैठकमा आईतवार संसदमा पेस हुने संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक र संवैधानिक परिषद्सँग सम्बन्धित विधेयकका बारेमा पनि छलफल भएको छ । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का सहभागी थिए । साथै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी, जनमत पार्टीका अध्यक्ष सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायतको पनि सहभागिता थियो । 

Logo