चितवन २ र तनहुँ १ को उपनिर्वाचनका लागि एमालेले टुंग्यायो उम्मेदवार

चितवन २ र तनहुँ १ को उपनिर्वाचनका लागि एमालेले टुंग्यायो उम्मेदवार


नेकपा एमालेले चितवन २ र तनहुँ १ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा लड्ने उम्मेदवारको टुंगो लगाएको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शनिबार बसेको सचिवालय बैठकले चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । चितवन २ बाट एमाले जिल्ला कमिटी अध्यक्ष न्यौपानेको एकल नाम सिफारिस भएको थियो भने तनहुँ १ मा उम्मेदवार बन्न लागेका खनालको नाममा शनिबार बिहान सहमति जुटेको थियो । 

साथै बारा २ मा भने आइतबार मात्र टुंगो लाग्ने बताइएको छ । ‘त्यहाँको राजनीति असाध्यै धेरै तरल भएको, उम्मेदवारहरुको बारेमा अझै छलफल गर्नुपर्ने, ठोस छलफल गर्नुपर्ने भएकाले भोलीका दिनसम्म बारा क्षेत्र नम्बर २ को उम्मेदवार तय गर्ने जिम्मेवारी पार्टीको मुख्यालयलाई दिएको छ । त्यो काम हामी भोलीसम्म सक्छौं । त्यसका लागि पार्टी अध्यक्ष केपी ओलीले त्यहाँका पार्टी इन्जार्चसहितका नेताहरुसँग बसेर सो विषयलाई टुंगो लगाउनु हुन्छ ।’ पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने । 

Logo