१४ माघ २०७८ शुक्रबार

संस्थापन इतर पक्षले आज पनि कांग्रेस बैठक बहिस्कार गर्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज अपराह्न १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक संस्थापन इतर पक्षले आज पनि बहिस्कार गर्ने भएको छ । संस्थापन पक्षले महाधिवेशनको कार्यतालिका प्रस्तुत नगरेसम्म बैठकमा सहभागी नहुने वरिष्ठ नेता रामचन्द्र पौडेल निकट एक केन्द्रीय सदस्यले बताए ।

वरिष्ठ नेता पौडेल पक्षले विहिबारको केन्द्रीय समिति बैठक औपचारिक रूपमै बहिस्कार गरेपछि दुवै पक्षका नेताहरूबीच विभिन्न चरणमा छलफल भए पनि सहमति जुट्न सकेको छैन ।

पछिल्लो पटक आज विहान पार्टी उपसभापति विमलेन्द्र निधि र महामन्त्री शसांक कोइरालाबीच छलफल भएको छ । सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्षसँग छलफल गरी सहमति जुटाउन जिम्मेवारी दिएपछि उपसभापति निधिले छलफल तीव्र पारेका हुन् । निधिले आज विहान महाराजगन्जस्थित कोइराला निवास पुगेर महामन्त्रीसँग छलफल गरे ।

छलफलमा विवादित चार मुख्य विषयमा सहमति निर्माण गरेर अघि बढ्ने सहमति भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उपसभापति निधिले आज अपराह्न बस्ने केन्द्रीय समिति बैठक अघि पौडेल पक्षबाट सहमति निर्माणको जिम्मेवारी पाएका केन्द्रीय सदस्य प्रकाशमान सिंहसँग पनि छलफल गर्ने प्रवक्ता शर्माले बताए ।

प्रकाशित: २९ मंसिर २०७६ १२:३१ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी