अन्तिममा आएर किन राेकियाे कर्णाली मन्त्रिपरिषद् विस्तार ?

अन्तिममा आएर किन राेकियाे कर्णाली मन्त्रिपरिषद् विस्तार ?


सिनियर नेतालाई सिफारिस नगरी रोलक्रम मिचेको भन्दै कर्णाली प्रदेशमा कांग्रेसभित्र रडाँको मच्चिएपछि मन्त्रिपरिषद विस्तार रोकिएको छ । बुधबार ३ बजे हुने भनिएको शपथ अन्तिममा आएर रोकिएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाहीलाई फोन गरेर मन्त्री बनाउँदा न्याय गर्न आग्रह गरे पनि शाहीले नमानेर मनोमानी गरेपछि आज देउवाले मुख्यमन्त्री राजकुमार शर्मालाई फोन गरी सपथ रोक्न आग्रह गरेको स्रोतले बताएको छ ।

जाजरकोटबाट राजिवविक्रम शाह लगाएतका सिनियर नेतालाई मन्त्री बनाउनु पर्ने सभापति देउवाले फोन गरेर भनेको स्रोतले बताएको छ । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच बनेको नयाँ समीकरणअनुसार मंगलबार कांग्रेसले तीन जना नाम मुख्यमन्त्री राजकुमार शर्मा समक्ष सिफारिस गरेको थियो ।

तर, सिनियर नेताहरूलाई बाइपास गरिएको र समावेशीतालाई ध्यान नदिएको भन्दै नेताहरूले पार्टीको केन्द्रमा असन्तुष्टि जनाएपछि सपथ रोकिएको हो । जाजरकोटका प्रदेशसभा सदस्य राजीवविक्रम शाह, सुर्खेतकी जानकी सिंहलगायतका नेताहरूले मन्त्री सिफारिसमा असन्तुष्टि जनाएको बुझिएको छ ।      

कांग्रेसले मंगलबार सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेललाई सामाजिक विकास मन्त्री, जाजरकोट जाजरकोट प्रेदशसभा ‘क’ बाट निर्वाचित बेदराज सिंहलाई आर्थिक मामिला तथा योजना र दैलेख क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिममेवारीसहित सरकारमा पठाउने भन्दै नाम सिफारिस गरिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र देउवा अहिले चुनावी कार्यक्रममा बाहिर भएकाले आपसी सल्लाह गरेर मात्र मन्त्रिपरिषदबारेका ठोस हुने स्रोतले बताएको छ । 

Logo