यी हुन् रास्वपा उदयका १० कारण [भिडियाेसहित]

यी हुन् रास्वपा उदयका १० कारण [भिडियाेसहित]


गत मंसिर ४ को निर्वाचनपछि रास्वपालाई छोटो समयमै राष्ट्रिय राजनीतिको केन्द्रमा उभ्याउँदा पछिल्लो उपनिर्वाचनको मतपरिणामले पुराना दलहरुको निदहराम गराएको छ। अघिल्लो निर्वाचनमा प्राप्त मतभन्दा झण्डै ५ हजार बढी मत पाउनुले रास्वपाको उदय नेपाली राजनीतिमा जबरजस्त भइसकेको पुराना दलका शीर्ष नेताहरुमा सुरु भएको खटपटिले पुष्टि गर्छ । उपनिर्वाचनमा भलै एकको बदला तीनको नारा पूरा भएन। एकको बदला दुई मात्र भयो । जसले आम जनमानसमा घण्टीको क्रेज छायो ।

परम्परागत पार्टीहरुलाई ‘सक्किने या सच्चिने’ अन्तिम अवसरका रुपमा रास्वपाले उपनिर्वाचनको मतपरिणाम मार्फत सूचित गराइसकेको छ । यस निर्वाचनमा मतदाताले विशेषतः ठूला दलहरूलाई बेसरी झकझक्याएका छन । आजको प्रस्तुतिमा हामी परम्परागत पार्टीप्रति जनताको आकर्षण घट्नु र रास्वपाप्रति आकर्षण बढ्नुका प्रमुख दश कारणहरुको बारेमा चर्चा गर्नेछौँ ।

१.सशक्त एजेण्डा 

पुराना पार्टीहरु (एमाले, कांग्रेस र माओवादी) मा प्रवेश गर्ने हरेक नयाँ पुस्ताले अध्ययन गर्न चटक्कै छाडेको छ । त्यसको लाभ सरासर राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गर्न पुग्यो ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको जनताको आकर्षणको पहिलो कारण सशक्त एजेण्डा हो भन्दा फरक पर्दैन । पुराना पार्टीहरु (एमाले, कांग्रेस र माओवादी) मा प्रवेश गर्ने हरेक नयाँ पुस्ताले अध्ययन गर्न चटक्कै छाडेको छ । त्यसको लाभ सरासर राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गर्न पुग्यो । सामाजिक संजालेकै भरमा कतिपय मानिसहरु रास्वपामा लागे । उपनिर्वाचनमा मुलधारका भनिएका पार्टीको राजनीतिक कार्यक्रम के हो ? वैचारिकी धरातल के हो ?स्पष्ट थिएन ।त्यसको लाभ कुनै पनि राजनीतिक विचार र धरातल नभएको रास्वपालाई प्राप्त भयो । 

सत्तारूढ गठबन्धनले आफ्ना उम्मेदवारलाई भोट माग्दा यी प्रश्नको जवाफ दिन सकेको देखिएन । एमालेको पनि कुनै राजनीतिक कार्यक्रम देखिएन । पुराना दलहरू मात्रै होइन, नयाँ विकल्पसहित आएको दाबी गर्नेहरू पनि केही फरक देखिएनन् तर ‘पुरानाले गर्न सकेनन्, त्यसैले हामी विकल्प हौं । भन्नबाहेक अरु केही आधार उनीहरुसँग भएन । रास्वपाले पुरानाहरुभन्दा फरक गर्न सकेको काममध्ये सामाजिक संजालको प्रचारप्रसारमा भरपुर उपयोग पनि एक हो ।

२.सत्ता केन्द्रीत राजनीति
पुराना दल र तीनका शीर्ष राजनीतिक दलहरुसत्ता स्वार्थमै केन्द्रीत भएको छर्लङ्गै छ । दलीय नेतृत्वमा हुर्केको परनिर्भर चरित्रले देशलाई सँधै कमजोर पारिरह्यो । सरकार गठन गर्दा होस् वा संविधान बनाउँदा वा कुनै उच्चपदस्थको निर्वाचन वा नियुक्तिमा शक्तिस्वार्थको चासो सम्बोधन गर्न तँछाड–मछाड गर्ने राजनीतिक नेतृत्वका कारण पनि जनतामा पुराना राजनीतिक दलहरुप्रति चर्को असन्तुष्टि रहेको छ ।

३. कम्युनिस्टहरुको विभाजन

नेताहरूबीचको आपसी सम्बन्धको व्यवस्थापन हुन नसक्दा नेपाली राजनीति बिथोलिएको मात्रै होईन, दिशाहीन, गतिहीन बन्न पुगेको छ जसले गर्दा मतदाताहरु निराश बन्न पुगेका छन् ।

नेपालका कम्युनिस्ट पार्टीहरुको मुख्य समस्या भनेकै विभाजन हो भन्दा फरक नपर्ला । जति पनि विभाजन भएका छन्, तिनमा सिद्धान्तको भन्दा पनि नेतृत्वहरूबीचको इगो प्रमुख कारण देखिन्छ । नेताहरूबीचको आपसी सम्बन्धको व्यवस्थापन हुन नसक्दा नेपाली राजनीति बिथोलिएको मात्रै होईन, दिशाहीन, गतिहीन बन्न पुगेको छ जसले गर्दा मतदाताहरु निराश बन्न पुगेका छन् । नेकपा फुटपछि बनेको एमाले, माओवादी, एकीकृत समाजवादी र अन्य साना कम्युनिस्ट घटकहरु प्रसस्तै छन् । जसले गर्दा नेपालको राजनीतिमा अस्थिरता, बेचैनी, बेमेल र अराजकतालाई पराश्रय मिलेको छ । जसले रास्वपालाई लाभ प्राप्त भएको छ ।

४. विद्रोह र आत्मविश्वास
नागरिकले विद्रोह र आत्मविश्वास मन पराउँछन् । सन्चारकर्ममा हुँदाको रविको विद्रोहले नै उनी राजनीतिमा सफलताको खुड्किलो चढेका हुन् । यो उपनिर्वाचनको सबैभन्दा महत्वपूर्ण घटनास्वर्णिम वाग्लेको विद्रोह पनि एक हो । कांग्रेसमा गगन थापा प्यानलबाट अर्थमन्त्रीका रूपमा अघि सारिएका वाग्लेले जब कांग्रेसका ‘दाइ–भाउजू’ देखाउँदै विद्रोह गरे, त्यसले एउटा तरंग पैदा ग-यो । ठूलो पार्टी छाडेर वैकल्पिक पार्टी जोडिने ठूलो नाममा उनी नै सायद पहिलो हुन् ।रास्वपाका हरेक उम्मेदवारमा त्यो विद्रोहीपन र आत्मविश्वास देखियो । जसलेजनता घण्टीतर्फ आकर्षित भए ।

कांग्रेसमा गगन थापा प्यानलबाट अर्थमन्त्रीका रूपमा अघि सारिएका वाग्लेले जब कांग्रेसका ‘दाइ–भाउजू’ देखाउँदै विद्रोह गरे, त्यसले एउटा तरंग पैदा ग-यो ।

५.आचरण, शैली र व्यवहार
पुराना दलका नेताहरुको उमेर त बढ्यो तर मानसिकता बढेन । सम्झनुहोस त,  स्वर्णिम वाग्लेलाई हराउन प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र शेरबहादुर देउवाले दिएको भाषण, ‘हाम्रो उम्मेदवारलाई जिताएर पठाउनुहोस्, मन्त्री बनाउँछौँ’ रे ! यो पुस्तामा मन्त्रीको चक्लेट देखाएर अझै चुनाव जितिन्छ भन्ने भ्रम छ । मंसिर ४ को निर्वाचनका बेला देउवापत्नी आरजु राणाले दिएको भाषण, ‘कांग्रेसलाई जिताए फ्री टिकट र फ्री भिसामा मलेसिया पठाउँछौ ।’सुध्रिने भए, ‘जिताउनुहोस् मन्त्री बनाउँछु’ होइन, देशमै रोजगारी सिर्जना गर्छु । यति रोजगारी, यसरी र यति वेलासम्ममा सिर्जना गर्छु भनेर भाषण गर्थे । पुराना नेताभन्दा नयाँ जनता निकै स्मार्ट भइसकेका छन् । 

६.गफ र चुट्किलाबाट विरक्त जनता
२०७४ सालमा नेकपाको जितमा केपीको ‘गफ’ र चुट्किलाको ठूलो हात थियो । एउटै जोक बारम्बार सुन्दा जसरी हामीलाई हाँसो उठ्दैन, त्यस्तै अब उनको भाषणबाट पनि मान्छे वाक्क भइसकेका छन् । जमाना बदलिएको छ । राम्रो भाषण गर्ने क्षमता राख्ने ओलीहरूका विकल्पमा आज काम पनि गर्ने, आफ्ना समस्या र योजना गीतमार्फत राख्ने क्षमता भएका युवाहरू आइसकेका छन् । उनीहरू सामाजिक सञ्जालमार्फत आफ्ना कुरा निर्धक्क राख्छन् । टिकटक लाइभमार्फत नागरिकसँग जोडिन्छन् । जमाना बदलिएको छ । अब ‘मन्त्री’ बनाउने भाषण र चुट्किलाले पुग्दैन ।

युवाहरू सामाजिक सञ्जालमार्फत आफ्ना कुरा निर्धक्क राख्छन् । टिकटक लाइभमार्फत नागरिकसँग जोडिन्छन् । जमाना बदलिएको छ । अब ‘मन्त्री’ बनाउने भाषण र चुट्किलाले पुग्दैन ।

७.आफ्नै खुट्टामा बञ्चरो 
नेपालमा कुनै पनि शक्ति आफ्नो शक्तिका कारणले भन्दा पनि अर्काको कमजोरीका कारणले उदाएका छन् । २००७ सालमा राणाशासन कसले ढाल्यो ? राणाशासन ढल्नुको मुख्य श्रेय राणालाई नै जान्छ । उनीहरूको आन्तरिक स्वार्थ र नागरिकप्रतिको जवाफविहीनतालाई नै जान्छ । पञ्चायत पञ्चायतकै कारणले ढलेको थियो । राजतन्त्र दलहरूले होइन, स्वयं राजाकै कारण समाप्त भयो । २०६४ सालको संविधानसभामा माओवादीको उदय कांग्रेस–एमालेको निकम्मापनका कारण भएको थियो । अहिले पनि रास्वपाकोे उदयमा नयाँ पार्टीको मिहिनेत कम, पुराना पार्टीहरूको असक्षमता बढी जिम्मेवार छ ।

८.राजनीतिको दोबाटो
कुनै–कुनै कालखण्डमा राजनीति एकजना व्यक्तिमा आएर केन्द्रित हुने गर्छ । ४६ सालपछि राजनीति एक दशक गिरिजाप्रसाद कोइरालाको ‘मुभ’मा आएर अडियो । त्यसपछि, त्यो पूर्वराजा ज्ञानेन्द्र शाहको हातमा पुग्यो । २०६४ सालपछि नेपालको राजनीति प्रचण्डको वरिपरि घुम्यो । ७० को दशकमा त्यो कमान्ड केपी ओलीको हातमा गयो । आज ८० को दशकको सुरुवातमा त्यो कमान्ड रवि लामिछाने, बालेन शाह र हर्क साम्पाङको हातमा पुगेको छ । रवि लामिछाने एउटा संगठन निर्माण गर्दै छन्, त्यसैले अझ बढी यो कमान्ड उनको हातमा छ । यदि लामिछानेले आफ्नो शक्तिलाई संस्था (रास्वपा) मा ट्रान्सफर गर्न सके भने उनी सफल हुनेछन् र नेपाली राजनीति उनी र रास्वपाको वरिपरि घुम्नेछ । उनको पक्ष र विपक्षमा रहने जनमत विभाजित हुँदा रास्वपाको उदयसँग अर्को वैकल्पिक शक्तिको पनि उदय हुनेछ ।

यदि लामिछानेले आफ्नो शक्तिलाई संस्था (रास्वपा) मा ट्रान्सफर गर्न सके भने उनी सफल हुनेछन् र नेपाली राजनीति उनी र रास्वपाको वरिपरि घुम्नेछ ।

९.सामन्ती संस्कार
मुख्य राजनीतिक पार्टीमा हुर्केको कुलीन संस्कार पनि रास्वपाजस्ता नयाँ पार्टीप्रतिको आकर्षण एउटा कारण हो । मुख्य राजनीतिक दलका माथिल्लो तहदेखि तल्लो स्तरसम्मका नेताहरुले आफ्नो सामन्ती व्यवहार, कार्यशैली र चरित्र सुधार नगर्दा जनता नयाँ पार्टीहरु प्रति आकर्षण हुन पुगेका छन् । लोकतान्त्रिक गणतन्त्रका लागि त्याग गरेका हरुकै कारण नेपालको संविधानले कैयौं जनअधिकार सुनिश्चित गरेको छ । कागजी लोकतन्त्रमा हामी विश्वका कतिपय धनी र विकसित राष्ट्रको दाँजोमा कम छैनौं । तर, व्यवहार, सोच, कार्यशैलीमा हामी लोकतन्त्रका नाममा विकृत अभ्यासमै लिप्त छौं । त्यस कारण हाम्रो कथनी र करनीमा अन्तर हुँदा मतदाताहरु रास्वपातिर लागेका छन् ।

१०.लोकप्रियतावादी राजनीति

परीक्षण भइसकेका दल र नेताहरू असफल हुँदै जाँदा नयाँ विकल्प खोज्ने नाममा समाज व्यक्तिकेन्द्रित राजनीतिको पछि लागेको छ ।

नेपाली समाजले खोजेको प्रस्ट दृष्टिकोण भनेको जवाफदेही र इमानदार नेता होइन, ‘मसिहा’ हो । जसले चर्को स्वरले मीठो र लोकप्रिय नारा दिन सक्यो, जनता उतै आकर्षित हुने प्रवृत्ति विकास भएको छ । परीक्षण भइसकेका दल र नेताहरू असफल हुँदै जाँदा नयाँ विकल्प खोज्ने नाममा समाज व्यक्तिकेन्द्रित राजनीतिको पछि लागेको छ । तर लोकप्रियतावादी राजनीतिले जनताको आशा अधुरो रहेमा त्यसबाट छिट्टै निराशा बाहेक केही हात लाग्दैन ।

Logo