किओच-काठमाडाैँ बाल अस्पताल निर्माणमा निम्बसको आर्थिक सहयोग

किओच-काठमाडाैँ बाल अस्पताल निर्माणमा निम्बसको आर्थिक सहयोग


निम्बस ग्रुपले काठमाडाैँको बुढानिलकण्ठस्थित निर्माण हुन लागेको किओच–काठमाण्डौँ बाल अस्पतालका लागि आर्थिक सहयोग गरेको छ । 

निम्बसले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले निर्माण गर्न लागेको सो बाल अस्पताल भवनका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । 

मंगलबार निम्बसको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच निम्बसका अध्यक्ष आनन्द बगडियाले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालालाई सहयोग रकम हस्तान्तरण गरे । 

सो क्रममा निम्बसका अध्यक्ष बगडियाले समाजयोगी यस कार्यमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए । उनले कोभिड–१९ महामारी लागायतका अवस्थाबाट सिकेर गुणस्तरीय बाल अस्पताल स्थापना तथा सञ्चालनका लागि ठूलो लगानीको आवश्यकता महसुस भएको बताउँदै अस्पताल निर्माणबाट आगामी दिनमा नेपालमा सहज र सुलभ बाल स्वास्थ्य सेवाउपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

साथै इन्स्टिच्युटका अध्यक्ष डा. कोइरालाले काठमाडाैँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बालबालिकाहरूमा हुने जटिल र गम्भीर रोगको उपचार सहजएवं सुलभ बनाउने उद्देश्यले काठमाडाैँमा बहु विशिष्टिकृत अस्पताल तथा बाँकी प्रदेशहरुमा पनि सोही प्रकृतिको सेटलाइट अस्पतालहरु सञ्चालन गर्न गइरहेको बताए । 

काठमाडाैँमा बाल अस्पताल निर्माणको कार्य सुरू भएको र कोशी प्रदेशको दमकमा यस इन्स्टिच्युटको पहिलो स्याटेलाईट अस्पतालबाट सेवा सुरू भइसकेको डा. कोइरालाले जानकारी दिए । निम्बसले गरेको यस सहयोगले भावी पुस्ताको स्वास्थ्य सेवामा सकारात्मक भुमिका खेल्ने जनाउँदै उनले धन्यवाद ज्ञापन गरे । 

निम्बसले नेपालमा कृषि तथा एफएमसिजी प्रोडक्ट सम्बन्धित व्यवसाय गरी आएको छ । यसको पोर्टफोलियोमा “शक्ति” र “हिमालयन हैप्पी पेट”  तथा प्रसिद्धीमा आइसकेका “व्यञ्जन”तथा“सुनौलो किरण” समावेश छन् । 

Logo