विकासका नाममा खोला र पहाड क्षेत्र दोहन

विकासका नाममा खोला र पहाड क्षेत्र दोहन


मध्यपहाडी लोकमार्ग जाजरकोट खण्डमा मौकाछोपी लगातार खोला, पहाड क्षेत्र दोहन भइरहेको छ। मध्यपहाडीलोकमार्ग जाजरकोट खण्डको कुदुदेखि गिमा र गिमादेखि थलहसम्मको कालोपत्रेको जिम्मा पाएको ठेकेदारले पहाड दोहन गरेको हो।

रातदिन मेसिन प्रयोग गरेर निर्माण कम्पनीले पहाड दोहन गरेर ढुङ्गा, गिट्टी, निकासी गर्दासमेत सरोकारवाला निकाय मौन छन्। भेरी नगरपालिका ९ र ११ जगतिपुरमा हरेक दिन एक्साभेटर, जेसीवी र टिप्परको लाइन देखिन्थ्यो ।

ती सबै अवैध रूपमा प्राकृतिक स्रोतको दोहन गर्न आएका हुन् । कालोपत्रेको जिम्मा पाएको सिंह एण्ड ब्रदर्सका सञ्चालक विश्वास उप्रेतिले आफू खुसी पहाड दोहन गरेको स्थानीय मानबहादुर नेपालीले बताए ।

वन ऐन २०७६ तथा वन नियमावली २०७९ अनुसार ठेकेदारले कुनै प्रक्रिया नबढाई आफू खुशी पहाड दोहन गरेका हुन् । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुसार सम्बन्धित स्थानीय निकायले ठेक्का लगाएर मात्रै वन क्षेत्रभित्र वन कार्यालयसँग समन्वय गरीढुङ्गा, गिट्टी, निकासी गर्नुपर्ने कानुनी प्रावधान छ ।

तर मध्यपहाडी लोकमार्ग निमार्णको जिम्मा पाएका ठेकेदार कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बिनै पहाड नै दोहन गर्दै आएका हुन् । विकासका नाममा ठेकेदारले ढुङ्गा, गिट्टीको मेसिनको प्रयोग गरी पहाडनै दोहन गरेको स्थानीयको आरोप छ ।

ठेकेदारले रातदिन धमाधम एक्साभेटर, जेसिवी र टिप्परहरुले ढुङ्गा, गिट्टी, उत्खनन गरिरहेका छन् । भेरी नगरपालिका ९ को बर्मईखम्ब (खोटेसल्ली भिर) भन्ने स्थानमा पहाडनै दोहन गरेका छन् । ठेकेदारले करिब १ सय मिटरको पहाडनै सखाप पारेको वडा अध्यक्ष हिरालाल शर्माले बताए ।

२०७४ फागुन २६ गते वडा कार्यालयमा स्थानीय बर्मइखम्बादेखि सरेखेल्ने डाँडासम्मको ७ सय मिटर बाटो बनाउने शर्तमा ठेकेदारले तत्कालीन वडाध्यक्ष धुर्वप्रसाद पौडेलसँग सहमति गरेका थिए ।

पहाड दोहन गर्ने स्थानीयलाई बाटो, युवाको लागि फिल्ड निर्माण र अन्यलाई माई भगवतीको मन्दिर निर्माण गर्ने शर्त गरेका थिए । तर हालसम्म ठेकेदारले पहाड दोहन गरेता पनि कुनै सर्त अनुसारको काम नगरेको वडा सदस्य मोति नेपालीले बताइन् ।उक्त स्थानबाट ठेकेदारले आफुखुसी ३५ हजार टनभन्दा माथि सामान उठाउँदा करको कुनै दायरामा नआएको वडाध्यक्ष शर्माले बताए ।

'हामीले उत्खनन् भइरहेको ठाउँमा पुगेर रोक्ने प्रयास गर्‍यौँ तर हाम्रो सुनुवाइ भएन,’ उनले भने, ‘पहिलेको वडा अध्यक्षसँग सम्झौता भएको भन्दै पहाड नै भत्काइएको छ । जथाभावी वन विनास गरेको छ ।’

अहिले पनि उक्त ठेकेदारले यसैगरी उत्खनन्गरिरहेको शर्माले बताए । अवैध उत्खनन्ले गाउँबस्ती जोखिममा पर्नुका साथै खेतीयोग्य जमीनसमेत जोखिममा परेको अर्का स्थानीयवासीको भनाइ छ ।

जथाभावी मेसिन प्रयोग हुँदा वन विनास भएको र यसका कारण वर्षायाममा पहिरो गाउँमा पस्ने जोखिम बढेको उनको भनाइ छ । मध्यपहाडीको स्याउलीबाट कार्कीगाउँसम्मको १७ किलोमिटरसडक खण्ड हाल कालोपत्र जारी छ । कालोपत्रका लागि ठेकेदारले बर्मईखम्ब (खोटेसल्ली भिर)बाट निरन्तर उत्खनन् गर्दै आएका छन्

बर्मईखम्ब (खोटेसल्ली भिर) मात्र नभएर निर्माण कम्पनीले भेरी नगरपालिका–१३ कुदुबाट स्याउली बजारसम्म कालोपत्र गर्न एउटा पहाड दोहन गरेको छ । भेरी नगरपालिका १२ बाघखोरमा पहाडनै दोहन गरेको हो । गुराँस सामुदायिक वन समितिसँग मिलमतो गरी ठेकेदार उप्रेतीले एउटा पहाडनै धोजा–धोजा बनाएका छन् ।

वन समितिलाई खानेपानी मोटर उपलब्ध गराउने शर्तमा ठेकेदारले लाखौँको कर छलि गरेको पाइएको छ । २०७४ सालतिर एउटा मोटर दिन्छु भनेर ठेकेदारले सहमती गरेर पहाड दोहन गरेको स्थानीयको आरोप छ ।

वन क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन विना समूहसँग सहकार्य गरी वन क्षेत्र दोहन गर्दासमेत वन कार्यालयले कुनै चासो नदेखाएको स्थानीयको आरोप छ । ‘अहिले एउटा सिंगो पहाडनै भत्काएर सडक निर्माण गरिएको छ । ठेकेदारले विकासका नाममा पहाड नै विनाश गरेका हुन्,’ उनले भने।

यता स्थानीयले भनेपहाड दोहन नगर्न माग गरेका छन् । भेरी नगरपालिका ९ का स्थानीयले ढुंगा, गिट्टी, बालुवाका लागि पहाड क्षेत्रमा उत्खनन् नगर्न आग्रह गरेका हुन् । पहाडमा कमजोर भू–बनोटका कारण हुने भू–क्षयले वर्षेनी सयौँ बिगाहा खेतीयोग्य जमिन बगरमापरिणत हुने भएका कारण पहाड दोहन नगर्ने स्थानीयले माग गरेका छन् ।

पहाडी क्षेत्रको माटो अत्यन्तै कमजोर प्रकृतिको हुने भएकाले त्यसलाई चलाउँदाबग्ने भएका कारण पहाडको दोहन रोक्नुपर्ने भेरी नगरपालिका ९ का बलबहादुर नेपालीले बताए । पहाडी क्षेत्रबाट गिट्टी बालुवा निकँस्दापहाड बगरमा परिणत हुने रगाउँ बस्ती र खेतीयोग्य जमिन नैमासिने उनको भनाइ छ ।

जनप्रतिनिधिकै संरक्षणमा दोहन

भेरी नगरपालिका जनप्रतिनिधिको संरक्षणमा प्राकृतिक स्रोतको दोहन भएको पाइएको छ । जनप्रतिनिधिले ऐन कानुनलाई ख्याल नगरी प्राकृतिक स्रोतको दोहन गरेका हुन्। ठेकेदारले दोहन गरिएको स्थानमा तत्कालीन भेरी नगरपालिका ९ का वडा अध्यक्ष धुर्वप्रसाद पौडेलको नेतृत्वमा २०७४ फागुन २६ गतेसहमति भएको थियो। 

कालोपत्रेको जिम्मा पाएको सिंह एण्ड ब्रदर्सका सञ्चालक विश्वाश उप्रेति र वडा अध्यक्षको संलग्नतामा बर्मईखम्ब (खोटेसल्ली भिर) दोहन गर्ने सहमति भएको स्थानीयले बताए ।

स्थानीयलाई पुजा गर्ने मन्दिर, युवाहरुको लागि खेल मैदान निर्माण गरिदिने सहमतिमा बर्मइखम्बादेखि सरेखेल्ने डाँडासम्मको ७ सय मिटर बाटोको नयाँ ट्रयाक खोल्ने सहमती भएको थियो । 

यसरी पहाडको प्रयोग गर्दा स्थानीय तहसँग करको दायरामा आएर उत्खनन् गर्नुपर्ने कानुनी प्रावधानलाई लत्याउँदै जनप्रतिनिधिले बदमासी गर्दासमेत नगरपालिका मुकदर्शक भएको देखिन्छ। आफ्नो पार्टी निकट वडा अध्यक्षले गरेको निर्णयविरुद्ध नगर प्रमुखले कुनै चासो नदेखाएको स्थानीयको आरोप छ।

तर नगर प्रमुख चन्द्र प्रकाश घर्तीले भने तत्काल स्थलगत अनुगमन गरेर गल्ती देखिए कारबाही गर्ने बताएका छन् ।प्राकृतिक स्रोत दोहनको विषयमा तत्काल स्थलगत अनुगमन गर्ने उनको भनाइ छ ।

भेरी नगरपालिका–१३ कुदुबाट स्याउली बजार१७ किलोमिटर सडक र स्याउलीबाट कार्कीगाउँसम्मको १७ किलोमिटर सडक कालोपत्र स्रोत दोहन भएको उनले स्वीकार गरे। पहिलो कार्यकाल भएकोले खासै ज्ञान नभएकोले ठेकेदारले नियम संगत नपुराएर स्रोतको दोहन गरेको उनको भनाइ छ ।

यस्तै डिभिजन वन कार्यालयले पनि आफू खुशी वन अतिक्रमण गर्नेलाई कारबाही गर्ने जनाएको छ। प्रमाणका आधारमा कारबाही गर्ने वन अधिकृत राधाकृष्ण दासले बताए। वन ऐन २०७६ र वन नियमावली २०८९ मा भएको व्यवस्था अनुसार प्रक्रिया नपुराएको खण्डमा तत्काल आवश्यक कारबाही प्रक्रिया अगाडी बढाउने उनको भनाइ छ।

Skip This
Logo