खाणलाई निलम्बन गर्न कांग्रेस सभापति देउवाको आनाकानी

खाणलाई निलम्बन गर्न कांग्रेस सभापति देउवाको आनाकानी


नक्कली भुटानी शरणार्थी प्रकरणको सडकदेखि सदनसम्म छरपष्ट छ । उक्त प्रकरणमा दोषी भनिएका १५ जना अहिले प्रहरी हिरासतमा छन् । जसमध्ये एमालेका सचिव तथा पुर्वमन्त्री टोपबहादुर रायमाझी निलम्बित भइसकेका छन् भने नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण अझै निलम्बनमा परेका छैनन् । उता कांग्रेसको भगिनी संस्था नेपाल विद्यार्थी संघ बालकृष्ण खाणलाई निलम्बन नगर्नुको कारण माग्दै आन्दोलनरत छ । तर पार्टी सभापति शेर बहादुर देउवा भने मौन छन् ।

बिहीबार नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १५ पुगेको छ । प्रकरण दिनप्रतिदिन पेचिलो बन्दै गएको छ । निलम्बित एमाले सचिव रायमाझीले किस्ता–किस्तामा गरेर ३ करोड बुझेको र खाणले १ करोड २३ लाख ५० हजार रुपैयाँ ‘गिफ्ट’ बुझेको प्रमाण भेटिएको बुधबारको कान्तिपुरमा उल्लेख छ । यद्यपि रायमाझी निलम्बित भइसकेका छन् भने खाणलाई नेपाली कांग्रेसले अहिलेसम्म निलम्बन गरेको छैन । त्यस्तै महासमिति सदस्य तथा पूर्व संसाद आङटावा शेर्पालाई पनि कांग्रेसले निलम्बन गरेको छैन ।

कांग्रेसको भगिनी संस्था नेपाल विद्यार्थी संघ बालकृष्ण खाणलाई निलम्बन नगर्नुको कारण माग्दै आन्दोलनरत छ । तर पार्टी सभापति शेर बहादुर देउवा भने मौन छन् ।

खाणलाई पार्टी केन्द्रीय सदस्यबाट निलम्बन गर्ने विषयमा कांग्रेस केन्द्रदेखि तल्लो तहसम्म विभाजित बनेको छ । पूर्वगृहमन्त्रीसमेत रहेका खाणलाई मुद्दाको किनारा नलागेसम्म पार्टीको जिम्मेवारीबाट अलग राख्ने विषयमा कांग्रेसमा दुई धार देखिएको छ । संस्थापन समूह तत्काल निलम्बन नगर्ने पक्षमा छ भने इतर समूहले निलम्बन गर्दा पार्टी हितअनुकूल हुने मत राख्दै आएको छ । हालसम्म यस विषयमा कांग्रेसले आधिकारिक धारणा सार्वजनिक भएको छैन । 

सभापति शेरबहादुर देउवाभने पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीसँग छलफल र राय लिएर मौन छन् । निर्णय लिन कार्यसम्पादन या कार्यसमितिको बैठक भने आह्वान गरिएको छैन । यसकारण तत्काल खाणलाई निलम्बन गर्ने निर्णय हुने अवस्था छैन । कांग्रेसका अनुसार खाण पक्राउ परिसकेको अवस्थामा पनि संस्थापन केही नेताहरू भने निलम्बनको विपक्षमा छन् । महामन्त्री गगन थापाले मंगलबार नै खाणलाई निलम्बन गर्नुपर्ने भन्दैनक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाको जिम्मा पार्टीले नलिने स्पष्ट पारिसकेका छन् । यता प्रवक्ता डा. प्रकाशशरण महत भने खाणको विषयमा अनुसन्धान टुंगो नलागेसम्म कुनै निर्णय लिने तयारी नभएको बताउँछन् । मंगलबार राजधानीमा पत्रकार भेटघाटमा प्रतिक्रिया दिँदै उनले अनुसन्धानबाट नतिजा आइसकेपछि निर्णयमा पुग्ने बताएका थिए  । 

यसअघि पनि आरोप लागेका कांग्रेसका नेताहरूलाई निलम्बन गरिएको विगत छैन ।

त्यसो त आरोप पुष्टि भएका नेताहरुलाई समेत निलम्बन गर्ने कांग्रेसको परम्परा होइन । यसअघि पनि आरोप लागेका कांग्रेसका नेताहरूलाई निलम्बन गरिएको विगत छैन । चर्चित बालुवाटार प्रकरणमा आरोपित तत्कालीन उपसभापति विजयकुमार गच्छदारलाई पनि कांग्रेसले निलम्बन गरेको थिएन । बरु मुद्दा विचाराधीन रहेकै अवस्थामा गच्छदार १४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाको प्यानलबाट उपसभापतिमा उम्मेदवार बने । साथै, गत प्रतिनिधिसभा निर्वाचनमा पनि उनले प्रत्यक्षतर्फ सुनसरी ३ बाट टिकट पाएका थिए । तर, दुवै निर्वाचनमा गच्छदार पराजित बन्न पुगे । हाल उनी केन्द्रीय सदस्य छन् । 

त्यस्तै, विशेष अदालतबाट भ्रष्टाचार आरोप ठहर भएका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री टेकबहादुर गुरुङलाई पनि कुनै कारबाही गरिएको छैन । उनी पनि हाल केन्द्रीय सदस्यकै हैसियतमा छन् । गत २५ फागुनमा ३१ करोड भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतले कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गुरुङसहित नौजनालाई दोषी ठहर गरेको थियो । मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ सांसदबाट भने निलम्बित छन् ।

कांग्रेसका नेताहरूले ‘पार्टीको साथी दुःखमा परेको बेला निलम्बन गरेर थप पीडा दिन नहुने’ मत राखपछि देउवाले पनि खाणलाई निलम्बन नगर्न मन बदलेको चर्चा छ ।

किन हिच्किचाए देउवा ?
पछिल्ला दिनमा खाणलाई निलम्बन भन्दा पनि कसरी जोगाउन भनेर देउवा केन्द्रित भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पत्नी आरजु राणा देउवाको नाम जोडिएपछि खाणलाई निलम्बन गर्दा आरजुको नाम पोलिने सक्ने त्रासले पनि निर्णयमा पुग्न नसकेको गाँइगुँइ छ । खाण पक्राउपछि बसेको पदाधिकारी बैठकमा निलम्बन गर्न करिब–करिब सहमत भएका देउवा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबाहेकका नेताहरूले ‘पार्टीको साथी दुःखमा परेको बेला निलम्बन गरेर थप पीडा दिन नहुने’ मत राखपछि देउवाले पनि खाणलाई निलम्बन नगर्न मन बदलेको चर्चा छ ।

Logo