ब्यक्तिले गरेको गल्तिको दोष सिङ्गो प्रणालीलाई दिन मिल्दैन: मन्त्री शर्मा

ब्यक्तिले गरेको गल्तिको दोष सिङ्गो प्रणालीलाई दिन मिल्दैन: मन्त्री शर्मा


सञ्चार सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले व्यक्तिले गरेको गल्तीको दोष प्रणालीलाई दिइनु गलत भएको बताएकी छन् ।

सामुदायिक सूचना नेटवर्क सीआईएनको १५औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले पदमा पुगेका केही व्यक्तिले गरेका गैर कानुनी कामलाई लिएर सिङ्गो गणतन्त्रलाई नै बदनाम गराउने गरिएको प्रति असहमति जनाउँदै यस्तो काम हुनुपर्ने बताइन् । सरकार सञ्चालनका क्रममा गल्ती कमजोरी गर्नेलाई कानुन अनुसार कारबाही गर्ने अवसर पनि गणतन्त्रमा रहेको भन्दै मन्त्री शर्माले उनीहरूलाई कारबाही गर्न सबै एकै ठाउँ उभिनुपर्ने उल्लेख गरिन् ।

गणतन्त्रको विकल्प गणतन्त्रमात्र रहेको भन्दै उनले गणतन्त्र दिवस मनाउनु हिजोका राजा महाराजाको जन्म दिन मनाएको जस्तो नभएको बताइन् । सरकारको प्रवक्ता समेत रहेकी शर्माले सङ्घीय गणतन्त्रप्रति आम नागरिकको अपनत्व बढाउनका लागि सरकारले यस वर्ष तीन दिनसम्म गणतन्त्र दिवस भव्यताका साथ मनाउन लागेको बताइन् । मन्त्री शर्माले प्रविधिको विकासलगायत कारणले रेडियो, टेलिभिजन र छापा माध्यम कै भविष्यप्रति संशय उत्पन्न हुने गरेको भन्दै आम नागरिकका समस्याको उठान गर्ने र गुणस्तरीय सामाग्री उत्पादन गर्न सके रेडियो, टेलिभिजन र छापा माध्यमको भविष्य सधैँ उज्यालो रहेको दाबी गरिन् ।

कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबका अध्यक्ष अर्जुन गिरीले ग्रामीण तहमा रहेका रेडियो जोगाउन आवश्यक रहेकोमा जोड दिएका थिए । उनले विपद्का बेला रेडियो समुदायको सबैभन्दा नजिकको साथी भए पनि सरकारका विभिन्न नीतिलगायत धेरै कारणले मारमा परिरहेको भन्दै सामुदायिक रेडियो बचाउन तीनै तहका सरकारले आवश्यक सहयोग गर्नुपर्ने धारणा राखे । सीआईएनसँगै सामुदायिक रेडियोलाई पनि ग्रामीण आवाज स्थापित गर्न सरकारका साथै सबै सरोकारवालाले साथ सहयोग गर्नुपर्ने गिरीको भनाइ थियो ।

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले पछाडि रहेका व्यक्ति वा समुदायको कुरा बाहिर ल्याउँदा नै सुशासन कायम गर्न सकिने भन्दै लुकेका कुरा बाहिर ल्याउँदा सरकार जिम्मेवार बन्ने बताए ।

दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायको मूल प्रवाहिकरणका लागि सरकारले अझै पनि प्रभावकारी कार्यक्रम ल्याउन नसकेको र ल्याएका कार्यक्रमको कार्यान्वयन हुन नसकिरहेकोतर्फ ध्यानाकर्षण गराउँदै यसमा सञ्चारमाध्यमले खबरदारी गर्नुपर्ने बताए ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सीआईएनले खास गरी दूर दराजको समुदायलाई सूचना र सञ्चारको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरिरहेकोमा धन्यवाद दिँदै आयोग र सीआईएनबिच सहकार्य गरेर अघि बढ्न सकिने उल्लेख गरे ।  

वरिष्ठ अधिवक्ता एवम् संविधानविद् डा‍. चन्द्रकान्त ज्ञवालीले छापाखाना वा सूचना सञ्चार माध्यमले पनि व्यक्तिको गोपनीयताको हकको ख्याल गर्दै सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका थिए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले अप्ठ्यारो बेलामा रेडियोबाट आउने सामग्री औषधिको रूपमा आउने भएकाले औषधि जोगाउन आवश्यक रहेको बताए । सङ्कटको साथी रेडियो भएकाले यसको व्यवस्थापनमा जुट्न सबैसँग उनको आग्रह थियो ।  

१५औँ स्थापना दिवसको अवसरमा सीआईएनकर्मी सुनिल राजभारत, रेडियो खुला आकाश जुम्लाका मानबहादुर कुँवर र  रेडियो मध्यपश्चिम दाङका  सुशीला ओली उत्कृष्ट पत्रकार पुरस्कारबाट सम्मानित भएका थिए । तीनै जनालाई कार्यक्रमका मुख्य अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनही नगद १५ हजार पुरस्कारसहित सम्मान गरिन् ।

Logo