हारे हारिन्छ तर अब कांग्रेस गठबन्धन गरेर निर्वाचनमा जाँदैनः महामन्त्री थापा

हारे हारिन्छ तर अब कांग्रेस गठबन्धन गरेर निर्वाचनमा जाँदैनः महामन्त्री थापा


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस अब कुनै पनि पार्टीसँग गठबन्धन गरेर अगाडि नबढ्ने बताएका छन् ।

नेपाली कांग्रेस संघीय सभा क्षेत्र नं.२ कार्यसमिति, ललितपुरको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले भुईंमा बस्नु परे बसौँला, मञ्च नपाए सडकमा बसौँला तर कुनै पार्टीसँग तालमेल गरेर चुनावमा जाने गल्ती कांग्रेसले अब नगर्ने बताएका हुन् । उनले अब पार्टीलाई सच्चाउने घोषणा र संकल्प कांग्रेसले गर्नैपर्ने बताए । 

उनले भने, ‘अब गरेको गल्तीलाई सुधार गर्दै आम जनतासँग माफी माग्दै, यो कांग्रेसले घोषणा गर्छ, गर्नुपर्छ यो पटक जीवनमा चुनाव हारे हारिन्छ दुई पटक, तीन पटक हारिन्छ तर जीवनमा नेपाली कांग्रेस कुनै पार्टीसँग गठबन्धन गरेर अगाडि बढ्दैन । तालमेल गर्दैन्, भुईमा बस्नु परे बसौला, मञ्च नपाए सडकमा बसौला, तर गर्दैनौ, यो गल्ती जुन स्थानबाट भएको छ, सच्याउने काम त्यहीबाट गर्नुपर्छ । कांग्रेसले यो घोषणा गर्छ, संकल्प गर्नै पर्छ ।’ 

महामन्त्री थापाले विधिको शासन कांग्रेसको शक्ति भएको भन्दै कानूनको शासनको वकालत गर्दै गर्दा सरकार गएपनि फेरि उठाउने उल्लेख गरेका छन् ।

उनले भने ‘विधिको शासन कांगे्रसको शक्ति हो, यो कानुनको शासनको वकालत गर्दै गर्दा सरकार गए जान्छ, यस्तो सरकार गएर केही पनि हुदैँन् । अर्को सरकार आउँछ । कानुनको शासनमा कांगे्रसले सम्झौता गर्दैन् भनेर स्थापित गर्न सकेनौ भने, आफ्नो सिद्धान्तमा सम्झौता गर्दै गयो भने कांग्रेसको चरित्र नराम्रो बन्दै जान्छ । ’ 

महामन्त्री थापाले निर्वाचनको बेला मतदाताबीच गएर रुखमा होईन् चर्खा, साइकलमा मत हाल भनेर मत माग्दा कांग्रेस सत्ताको लागि सबै गर्छ भन्ने खालको छवि जनतामा परेको बताए । 

Logo