टीकापुरमा बालकोष स्थापना

टीकापुरमा बालकोष स्थापना


कैलालीको टीकापुर नगरपालिकाले बालबालिकाको संरक्षणका लागि बालकोष स्थापना गरेको छ। विभिन्न विपत् र महामारीमा बालबालिकाको आपत्कालीन उद्धार तथा सहायता प्रदान गर्ने उद्देश्यले स्थानीय तहमा ‘बालकोष’ स्थापना गर्ने गरिएको छ ।

कोषमा बाल कल्याण सङ्घ टीकापुरले रु एक लाख सहयोग गरेको छ भने नगरपालिकाले रु ७० हजार जम्मा गरेको छ । नगरपालिकाले आगामी दिनमा यो कोषमा रकम बढाउँदै लैजाने महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख सङ्गीता शाह बताउँछिन्।

'कोष शुरू भएको छ, कोषमा हरेक वर्ष पालिकाले रकम थप्दै जानेछ,' उनी भन्छिन्, 'बालबालिकाका क्षेत्रमा काम गर्ने, सघाउन चाहनेले समेत कोषमा रकम जम्मा गर्न सक्नेछन्। यही कोषमार्फत समस्यामा रहेका बालबालिकालाई सहयोग गरिनेछ।'

बालबालिकासम्बन्धी ऐन, २०७५ द्वारा निर्देशित बुँदामध्ये स्थानीय तहमा बालहितका प्रयोजनले बालकोष स्थापना गर्नुपर्ने प्रावधान छ। स्थानीय तहले बालबालिकासँग प्रत्यक्ष सरोकार राख्ने बालकोषलगायत बाल संरक्षण अधिकारी र कार्यविधि बनाउन थालेका छन्। टीकापुर नगरपालिकाले बाल संरक्षण अधिकारीको जिम्मा महिला, बालबालिका तथा समाजकल्याण शाखा प्रमुखलाई दिएर काम गरिरहेको छ।

नगरपालिकाले बालकोष स्थापना गरी बाल संरक्षणका काम थालेको छ। पालिकाले स्थानीय तहलाई बालमैत्री पालिका घोषणा गर्नका लागि शिक्षा, स्वास्थ्य, बाल संरक्षण तथा बचाउ, घटना दर्तालगायत विभिन्न ५१  सूचक पूरा गर्न काम थालेको छ।

बालमैत्री शासकीय व्यवस्थाको अवलम्बन गर्नका लागि गर्भावस्थादेखि १८ वर्ष उमेर नपुगेका बालबालिकाको बाल संरक्षण, बाल विकास, बाल बचाउ, बाल सहभागितासम्बन्धी ५१ सूचकलाई पूरा गर्न आवश्यक हुन्छ। नगरपालिकाले नगरस्तरीय बाल सञ्जाल समितिसमेत गठन गरेको  छ।

समितिले बालबालिकाका समस्या, आवश्यकता र समाधानका उपायबारे छलफल गर्ने, समाधानको खोजी गर्ने गरेको सञ्जालका अध्यक्ष वर्षा रानाभाट बताउँछिन्। 'हामी बाल सञ्जालको पटक–पटक बैठक बस्छौँ,' अध्यक्ष रानाभाट भन्छिन्, 'बालबालिका समस्या, विद्यालयमा भोगेका समस्या, घरमा भोगिरहेका समस्याबारे छलफल हुन्छ।'

अध्यक्ष रानाभाटले बालविवाह, लागुऔषध दुर्व्यसन, मनोसामाजिक समस्यालगायतका विषयमा आपसमा छलफल हुने र आवश्यकताका कुरा सम्बन्धित पालिकामा माग गर्न थालेको बताइन्। 'यी सबै कुराले बालबालिकाको पढाइमा असर पार्छ,' उनी भन्छिन्, 'पछिल्लो समय बालबालिकाको हितमा सहयोग पुग्ने खालका योजना ल्याउन पालिकासँग माग गरेका छौँ।'

नगरपालिकाले पहिलो चरणमा वडा नं ६ लाई बालमैत्री वडा घोषणा गर्ने अभियान थालेको छ। बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणा प्रक्रियामा सबैले आ–आफ्नो ठाउँबाट सक्रिय सहभागितासहित बालमैत्री घोषणा गर्ने प्रतिबद्धताअनुसार वडा नं ६ मा विभिन्न क्रियाकलाप भइरहेका छन्।

त्यसैगरी वडा नं ६ लाई बालमैत्री वडा घोषणाका लागि पालिकाले काम गरिरहेको छ। पालिकाले बाल कल्याण सङ्घ टीकापुरको सहयोगमा बालमैत्री वडा घोषणाका लागि भएका ५१ सूचकमध्ये केही सूचक पूरा गरेको र बाँकी सूचक पूरा गर्न काम गरिरहेको वडाध्यक्ष बलिराम चौधरी बताउँछन्।

'बालबालिकाको विवरण, बालबालिकाको अवस्थालगायतका तथ्याङ्क सङ्कलन गरिसकेका छौँ,' उनी भन्छन्, 'केही सूचक पूरा भइसकेका छन्, बालबालिकाका समूह गठन गरेर विभिन्न क्रियाकलाप भइरहेका छन्।'

सरकारले सन् २०३० सम्म सबै स्थानीय तहलाई बालमैत्री पालिका बनाउने लक्ष्य लिएको छ। सबै क्षेत्रमा बालबालिकाको सहभागिता बढाउन, स्थानीयस्तरमा हुने हरेक कार्यक्रममा सहभागिता र बालबालिकाका हितमा योजना ल्याउन आवश्यक रहेको बालबालिकाहरूकै माग छ।

Logo