महिला विश्वकप फुटबलः स्वीडेन अन्तिम १६ मा

महिला विश्वकप फुटबलः स्वीडेन अन्तिम १६ मा


स्वीडेन फिफा महिला विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। न्युजिल्यान्डको वेलिङ्टनमा शनिबार भएको खेलमा इटालीलाई ५-० गोलले पराजित गर्दै स्वीडेनले प्रिक्वार्टरफाइनलमा स्थान बनाएको हो।

स्वीडेन एक खेल बाँकी छँदै समूह ‘जी’बाट अन्तिम १६ मा पुगेको हो। स्विडेन नकआउट चरणमा पुग्ने तेस्रो टोली बनेको छ। यसअघि स्पेन र जापानले प्रिक्वार्टरफाइनलमा स्थान बनाइसकेका छन्।

स्वीडेनको सानदार जितमा अमेन्डा इलस्टेडले दुई तथा फ्रिडोलिना रोल्फो, स्टिना ब्ल्याकस्टेनियस र रेबेका ब्लोमक्विस्टले एक/एक गोल गरेका थिए। स्वीडेनले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल थपेको थियो। खेलको ३९औं मिनेटमा एमान्डाले गोल गर्दै स्वीडेनलाई १–० को अग्रता दिलाएकी थिइन्।

४४औं मिनेटमा फ्रिडोलिना रोल्फोले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारेकी थिइन्। पहिलो हाफको इन्जुरी समयमा स्टिनाले गोल गर्दै स्वीडेनलाई ३–० को अग्रता दिलाएकी थिइन्। ५०औं मिनेटमा एमान्डाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरिन् भने इन्जुरीमा रेबेका ब्लोमक्विस्टले गोल गर्दै स्वीडेनलाई सानदार जित दिलाइन्। दोस्रो हाफको अन्त्यतिर इटालीले बल पोसेसनमा पक्कड जमाउँदै स्वीडेनलाई दबाबमा राखे पनि गोल भने गर्न सकेन।

स्वीडेनले समूह ‘जी’मा दुई खेलबाट ६ अंक जोडेको छ। दुई खेल नै खेलेको इटाली ३ अंकका साथ दोस्रो स्थानमा छ। अर्जेन्टिना र दक्षिण अफ्रिकाको एक/एक अंक छ। समूह चरणको अन्तिम खेलमा स्वीडेनले अर्जेन्टिना र इटालीले दक्षिण अफ्रिकासँग खेल्नेछ।  

Logo