फ्रान्सेली राजदूतलाई नाइजर छोड्न सेनाकाे आदेश

फ्रान्सेली राजदूतलाई नाइजर छोड्न सेनाकाे आदेश


नाइजरको सैन्य नेतृत्वले फ्रान्सेली राजदूतलाई देश छोड्न आदेश दिएको छ । सैन्य  सरकारको यो कदमले पश्चिम अफ्रिकी राष्ट्रमा प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपतिलाई पदच्युत गरेपछि अन्तरराष्ट्रिय सङकटलाई अझ बढाएको अल जजीराले जनाएको छ ।

फ्रान्सेली राजदूत सिल्भेन इट्टेलाई ४८ घण्टाभित्र नाइजर छोड्न भनिएको छ । शुक्रबार उनलाई सैन्य सरकारले पठाएको एक पत्रमा छलफलका निम्ति विदेश मन्त्रालयमा उपस्थित हुन गरिएको आमन्त्रणाको बेवास्ता गरेको आरोप पनि लगाइएको छ । राजदूत इट्टेको निष्कासनको कारण ‘नाइजरको हित विपरीत फ्रान्सेली सरकारको काम हो’ भनिएको छ । 

फ्रान्सको विदेश मन्त्रालयले शुक्रबार नै नाइजरका सत्ता विप्लवीसँग आफ्ना राजदूतलाई फिर्ता जान आदेश दिने कुनै अधिकार नभएको बताएको छ । सैन्य विद्रोहअघिसम्म नाइजरसँग फ्रान्सको सुमधुर सम्बन्ध थियो । आफ्नो पूर्वउपनिवेश नाइजरलाई सशस्त्र समूहविरुद्धको लडाइँमा पेरिसले सघाउँदै आएको थियो ।

गत महिना सेनाले सत्ता कब्जा गरेपछि नाइजरमा फ्रान्स विरोधी भावना बढ्दै गएको छभने  केही स्थानीयले आफ्नो आन्तरिक मामिलामा पेरिसले हस्तक्षेप गरेको आरोप लगाएका छन् । 

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले नाइजरका विद्रोहीको आलोचना गर्दै अपदस्थ राष्ट्रपति मोहम्मद बाजुमलाई तत्काल रिहा गर्न माग गरे । 

यसैबीच, सैन्य नेता जनरल अब्दरहमाने त्चियानीले आक्रमणको अवस्थामा नाइजर क्षेत्रमा हस्तक्षेप गर्न बुर्किना फासो र मालीका सुरक्षा बललाई अधिकार दिने दुईवटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका  सैन्य अधिकारी ओमारो इब्राहिम सिदीले बताएका छन् । -एएनआई

Logo