पशुपति क्षेत्रस्थित चन्द्रविनायक मन्दिरको जग्गामा व्यक्तिको रजाइँ

पशुपति क्षेत्रस्थित चन्द्रविनायक मन्दिरको जग्गामा व्यक्तिको रजाइँ


काठमाडौं ।

पशुपति क्षेत्र भित्र पर्ने काठमाडौँ महानगरपालिका–७ चावहिलस्थित गणेशस्थानको जग्गा केही व्यक्तिको समूहले वर्षौंदेखि उपयोग गर्दै आएको छ ।

गणेशस्थान चौरसमेत भनिने करिब तीन, चार रोपनी जग्गामा १०० वटा पसल बनाएर चन्द्रविनायक पार्क व्यवस्थापन समाजले भाडा उठाउँदै आएको छ । वि.सं. २०५४ देखि गैरसरकारी संस्थाका रुपमा स्थापना भएको समाजले मन्दिरको जग्गा उपयोग गर्दै आए पनि पशुपति क्षेत्रका मठमन्दिर र तिनका नाममा भएको जग्गाको संरक्षण गर्ने कानूनी अधिकार पाएको पशुपति क्षेत्र विकास कोषको भने यसतर्फ ध्यान नै नगएको स्थानीयवासीको गुनासो छ ।

पार्क व्यवस्थापन समाजमा चावहिलका स्थानीयवासीले समेत सदस्यता पाउँदैनन् । समाजका अध्यक्ष अजव श्रेष्ठ २०५४ साल अघि त्यो जग्गामा रुख रोप्ने ८५ जना मात्र समाजको सदस्य रहन सक्ने विधान रहेको स्वीर्काछन् । जुन प्रावधान सङ्घसंस्था ऐन २०३४ विपरीत रहेको स्थानीयवासीको भनाइ छ । पार्क व्यवस्थापन समाज नामाकरण गरिए पनि यहाँ कुनै उद्यान छैन । ८५ वटा रुख रोपेर ८५ जना सदस्य रहेको भनिए पनि हाल यहाँ त्यति सङ्ख्यामा रुखसमेत छैन । वरिपरि पसल बनाइएको चौरको बीचमा स्थानीय युवाले फूटबल खेल्ने गरेका छन् ।

उद्यानका नाममा संस्था खोलेर १०० वटा पसल व्यवस्थापनमा काम गरेको देखिँदा समेत सरोकार भएका कुनै निकायको पनि ध्यान गएको छैन । तरकारी व्यवसायीलाई ५० र कपडा व्यवसायीलाई ५० वटा पसल मासिक भाडामा दिइएको छ । तरकारीलाई दिइएको एउटा पसलको मासिक रु एक हजार ५०० र कपडालाई भाडामा दिइएको एउटा पसलको मासिक रु ९०० भाडा लिने गरिएको पनि उनले बताए । यही जग्गाको व्यवस्थापनका लागि खुलेको संस्थासँग कति जग्गा छ भन्ने समेत जानकारी छैन । अध्यक्ष श्रेष्ठ आफू दुई वर्ष अघि मात्र निर्वाचित भएकाले खोजी गर्नुपर्ने बताउँछन् । केही दिनमा जग्गाको वास्तविक क्षेत्रफल खोजी गर्ने प्रतिबद्धता उनले जनाए । गणेशस्थानको चौरका जग्गा वरिपरिबाट मिचिएको भनिए पनि कसले कति मिचे भन्ने खोजी समेत समाजले नगरेको स्थानीयवासी बताउँछन् ।

मासिक रु ४८ हजार फोहर व्यवस्थापन गरे वापत् परिवर्तन नेपाल नामक कम्पनीलाई दिने गरेको समाजले बताए पनि कम्पनीको सम्पर्क नं. दिन भने यसका पदाधिकारीले अस्वीकार गरेका छन् । समाजको कार्यालयमा राखिएका चार जना कर्मचारीलाई पनि यसैबाट तलब दिने गरिएको छ । आफ्नै टोलमा रहेको मन्दिर क्षेत्रको व्यवस्थापनमा काम गर्ने संस्थाको सदस्यता लिन खोज्दा पाउन नसकेको स्थानीयवासी रमेश डङ्गोलले गुनासो गरे । पसलको भाडाबाट उठेको रकम केही वर्ष अघिसम्म काठमाडौँ महानगरपालिका ७ नं. वडा कार्यालय, श्री चन्द्रविनायक तथा श्री भैरवनाथ भजन मण्डल समिति र समाजको नाममा गरी तीन भाग लाग्ने गर्थ्यो । हाल भने वडा कार्यालय दिन बन्द भएको छ । वडा कार्यालयलाई यहाँबाट उठेको रकम दिँदा दुई भाग थपेर विकास निर्माणको काम गर्नुपर्ने गरी पहिले सम्झौता भएको जनाइएको छ ।

भजन मण्डललाई चन्द्रविनायक जात्रा व्यवस्थापनका समयमा मात्र बजेट दिने गरिएको अध्यक्ष श्रेष्ठले बताए । हाल महानगरपालिका वडा नंं ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल १० वर्षसम्म समाजको अध्यक्ष बनेका जनाइएको छ । हालसम्म वडा अध्यक्ष डङ्गोलले नै सबैभन्दा बढी अध्यक्षको कार्यकाल पूरा गरेको समाजले जनाएको छ । स्थानीयवासीले वरिपरिबाट गणेशस्थान चौर मिच्न थालेपछि ०५४ सालमा वडा कार्यालयको समेत सक्रियतामा समाज स्थापना गरिएको वडा अध्यक्ष डङ्गोल बताउँछन् । आफूले त्यस बेला वडा सदस्यका रुपमा सक्रिय रुपमा काम गरेको उनले बताए । कोषले मन्दिर क्षेत्रको जग्गा संरक्षण गर्न नआएकैले त्यसबेला स्थानीयवासी सक्रिय भई संस्था खोलेर काम गरेको अध्यक्ष डङ्गोलले सुनाए । कोषका सदस्य सचिव डा प्रदीप ढकाल त्यस विषयमा केही स्थानीयवासीको गुनासो समेत आएकाले थप बुझ्ने बताउँछन् ।

चन्द्रविनायक मन्दिर उपत्यकाका चार गणेशमध्येको एक भएकाले यसको धार्मिक महत्व छ । यहाँ प्रत्येक हप्ताको मङ्गलबार हजारौँ भक्तजनको भीड लाग्ने गर्छ । घाउ, खटिरा आएका मानिसले यहाँ आई पूजा आराधना एवं दर्शन गरेमा त्यस्ता रोग ठिक हुने धार्मिक विश्वास छ । उमेर पुग्दा पनि बोली नफुटेका बच्चालाई समेत यहाँ ल्याई दर्शन गराइन्छ । गणेशलाई विघ्न विनाशकका रुपमा समेत पूजिने भएकाले पनि धेरै भक्तजनको भीड लाग्ने गरेको हो ।

भूकम्पले क्षतिग्रस्त मन्दिरको हाल पुनःनिर्माण भइरहेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि चैत ११ गतेदेखि मन्दिर क्षेत्र दर्शनार्थीका लागि बन्द गरिएको छ । नित्य पूजा भने भइरहेको जनाइएको छ ।रासस

Logo