नेकपा एमालेनिकट युवा संघले मंसिर ७ गते काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकेपछि युवा संघका अध्यक्ष क्षीतिज थेवेले एक विज्ञप्ति जारी गर्दै कार्यक्रम नसर्ने र सोही मिति र स्थानमा तीनकुनेमा कार्यक्रम हुने जानकारी दिएका हुन् ।
'राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को आयोजनामा मिति २०८० मंसिर ७ गते माइतीघर मण्डलामा 'युवा-विद्यार्थी विशेष कार्यकम' आयोजना गरिएको विषय सर्वविदितै छ ।' विज्ञप्तिमा भनिएकाे छ, 'तर, नेपाल सरकारले माइतीघर मण्डलादेखि बानेश्वर 'चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा (सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म) गर्ने निर्णय गरेकाले हाम्रो निर्धारित कार्यकम सोही मिति र समय (बिहान ११:०० बजे)मा काठमाडौँस्थित तिनकुनेमा हुने व्यहोरा जानकारी गराउँदछौँ ।'
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ४ गते साेमबारदेखि ३० दिनसम्म माइतीघर मण्डलादेखि बानेश्वर क्षेत्रलाई पाँच जना भन्दा बढी भेला हुन नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको छ ।
प्रकाशित: ४ मंसिर २०८० १९:५४ सोमबार