२० असार २०७९ सोमबार
1
1
1
1

प्रतिनिधिसभाको शुन्य समय : सीमा अतिक्रमणबारे सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण (LIVE)

1
1
1
1

काठमाडौं ।

सांसदहरुले नेपालको सुदुरपश्चिममा भारतीय पक्षबाट गरिएको सीमा अतिक्रमण विरुद्ध प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । विगत लामो समयदेखि भारतीय पक्षबाट नेपालको सीमा अतिक्रमण हुदै आएको र त्यसको दीर्घकालिन समाधान निकाल्न नसक्दा विभिन्न वहानामा अतिक्रमण हुने क्रम बढ्दै गएको भन्दै सांसदहरुले प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसदहरुले सीमा अतिक्रमणको विषयलाई लिएर अन्तर्राष्ट्रिय अदालत जान पनि सुझाव दिएका छन् ।

सांसद देवेन्द्र पौडेलले कालापानी र लिपुलेक प्रकरणले नेपालीको स्वभिमानी मुटुमाथि तीर रोपिएका समयमा सत्तापक्ष र प्रतिपक्षी भएर कविताको सौन्र्दयमा विचरण नगरी समस्या समाधानका लागि सबैलाई एकतावद्ध गर्दै मूर्त र परिणाममुखी पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।

धर्मशिला चापागाईले भारतबाट नेपालको सुदुर पश्चिममा भूभाग अतिक्रमण भएको प्रति खेद प्रकट गर्दै सुदुरपूर्वमा पनि केही समय पछि त्यही स्थिति आउने सम्भावना देखिएको भन्दै तत्काल स्थायी ढंगले सीमा विवाद गर्ने तर्फ पहल गर्न सरकारको ध्यानाकर्षण गराइन् । मेचीलाई सीमाना मान्न नसकिने कुरा आईरहेकाले सीमा विवादको दीर्घकालिन समस्या समाधान खोजिनुपर्ने तर्क उनले गरिन् ।

सांसद नन्दबहादुर रोका क्षत्रीले भारतले पटक पटक नेपाललाई दुःख दिने गरेको भन्दै सार्वभौम सत्ता सम्पन्न देशलाई हेप्ने भारतीय प्रवृत्तिको सधैंको अन्त्यका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराए । सांसद नवराज सिलवालले सिमा अतिक्रमणबारे कविता सुनाउदै मुलुकको अस्मिता जोगाउनका लागि सरकारमाथि प्रहार गर्ने काम छोडेर संयुक्त राष्ट्रिय मोर्चा बनाई अघि बढ्न आव्हान गरे ।

सांसद नारायणप्रसाद मरासिनीले सीमा अतिक्रमणविरुद्ध सरकारले चालेका कदमको प्रशंसा गर्दे सीमा क्षेत्र सुरक्षाका लागि विशेष कार्यक्रम ल्याउन माग गरे । सांसद निरु देव पालले कुटनीतिक पहलमार्फत सीमा क्षेत्रको अतिक्रमण रोक्नका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद पदम गिरीले भारतले १९५० देखि नै सीमामा विभिन्न संरचना निर्माण गरि नेपाललाई दुःख दिने गरेको भन्दै प्रभावकारी कुटनीतिक पहल गरि सीमा विवादको दीर्घकालिन अन्त्य खोज्न सरकारको ध्यानाकर्षण गराए । सांसद पार्वता डिसी चौधरीले सुगौली सन्धिले लिम्पियाधुरा कालापानी र लिपुलेक नेपालको हो भन्ने प्रष्ट भएको भन्दै पछिल्लो समय भारतले लिपुलेकमा गरेको अतिक्रमणविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा जान सरकारलाई आग्रह गरिन् ।

सांसद पार्वता कुमारी विशुन्केले कुटनीतिक तबरबाट सीमा विवादको दीगो समाधान खोज्न सरकारको ध्यानाकर्षण गराइन् । यस्तै सांसद पूर्णकुमारी सुवेदीले सुगौली सन्धिबाट कायम भएको नेपाली भुमि कब्जा गरि भारतले बाटो निर्माण गर्नु स्वतन्त्र सार्वभौम मुलुकमाथिको अतिक्रमण, हेपाहा प्रवृत्ति र नाङ्गो हस्तक्षेप प्रति घोर आपत्ती प्रकट गरिन् । उनले सीमाविवाद नेपाल सरकारको कुटनीतिक पहलबाट मात्रै समाधान हुने नदेखिएकाले चीनसँगको त्रिदेशिय समझदारीमार्फत भूमि संरक्षण गर्न र लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितको नक्सा सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद थम माया थापाले सीमा समस्याको स्थायी समाधान गर्न प्रभावकारी काम अघि बढाउन सरकारलाई अनुरोध गरिन् ।

प्रकाशित: ३० बैशाख २०७७ १२:२६ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी