लकडाउनमा भारतिय तरकारी धमाधम भित्रिदै, स्वदेशी तरकारी बारीमै कुहिए

लकडाउनमा भारतिय तरकारी धमाधम भित्रिदै, स्वदेशी तरकारी बारीमै कुहिए


काठमाडौं ।

लकडाउनको अवधीमा सरकारले खाद्यान्न, फलफूल तथा तरकारीको अभाव हुन नदिए पनि आपूर्ति व्यवस्था गर्न भने सकेको देखिंदैन । यसले लकडाउन अवधिमा नेपाली किसानले उत्पादन गरेको फलफूल तथा तरकारी भने खेर गइरहेको छ । स्थानिय उत्पादनले बजार नपाउँदा किसानले खाल्डो खनेर नष्ट गर्ने गरेका छन् । सरकारी निकायबाटै पनि कोरोना सर्ने भ्रमले ट्रकका–ट्रक तरकारी नष्ट गर्ने गरेको पाइन्छ ।

यसरी महामारीको अवस्थामा किसानले उत्पादन गरेको तरकारी तथा फलफूललाई स्थानिय तहमार्फत उचित बजार व्यवस्थापन गरि स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न छोडेर नष्ट गरिनुले आन्तरिक उत्पादनलाई निरुत्साहित गरेको पाइन्छ । किसानले मिहेनत पसिना बगाएर तथा खाई नखाई दुःख गरेर उत्पादन गरेको स्वदेशी उत्पादन बजारमा दुई रुपैयाँ किलोमा पनि बिक्री नभएपछि किसानहरुनै निरुत्साहित भएका छन् । काभ्रे, कास्की, मकवानपुर, भक्तपुर, ललितपुर, कपिलवस्तु, चितवन र रुपन्देहीका कृषकहरूले उत्पादित तरकारी नबिकेर तरकारी तथा फलफूलहरू नष्ट गर्ने अभियान नै चलाएका छन् ।

केही दिन अगाडि मात्रै काभ्रे र चितवन जिल्लाबाट बिक्रि गर्नको लागि लगिएको ६ ट्रक फलफूल, गोलभेडा तथा अन्य तरकारी पोखरा महानगरपालिका १५ का स्थानीयले नियन्त्रणमा लिएर सरोकारवाला निकायकै मिलेमतोमा कोरोना जोखिम बढ्ने भन्दै नष्ट गरिएको थियो । तर, काठमाडौं उपत्यका तथा अन्य सहरि क्षेत्रमा भने निबार्द रुपमा भारतबाट आयात भएको तरकारी उपभोक्ताको चुलोमा पुग्ने गरेको छ ।

यस्तो अवस्थामा सरकार भने मौन बसेको छ । सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन दिने नीति लिए पनि मुलुक लकडाउनमा गएपछि एक जिल्लाको तरकारी तथा फलफूल अर्को जिल्लामा लैजाँदा कोरोना संक्रमण फैलिने भन्दै प्रशासन कार्यालय र स्थानीय तहले देशैभर फलफूल र तरकारीको आयात रोक्ने नीति लिएका छन् ।

यता, उद्योग मन्त्रालयको रेकर्ड अनुसार लकडाउन यताको १० हप्तामा कुल ८६ हजार २ सय ९४ मेट्रिकटन तरकारी र ३४ हजार ६ सय ९५ मेट्रिकटन फलफूल आयात भएको छ । यसरी लकडाउन अबधीमा तरकारी आयातमा ४.० प्रतिशत र फलफूलमा ३८.१ प्रतिशतले वृद्धि भएको देखिन्छ । कृषी मन्त्रालयको तथ्यांक अनुसार लकडाउनको अवधिमा करिव ३० हजार मेट्रिकटनको हाराहारीमा तरकारी आयात भएकोमा करिब ६ हजार मेट्रिकटन तरकारी भारतबाट मात्र आयात भएको देखिन्छ । त्यस्तै स्वदेशी उत्पादन नहुँदा फलफूल भने पूर्णरुपमा आयात भएको तथ्यांकले देखाएको छ । यसरी स्वदेशी उत्पादनको वेवास्ता गर्दै विदेशी उत्पादन र उपभोग बढ्दै जाँदा जन गुनासो पनि बढ्न थालेका छन् ।

यद्यपी काठमाडौं उपत्यकाको कालीमाटी तरकारी तथा फलफूल बजारमा भारतबाट आयात भए पनि स्वदेशी तरकारीजन्य वस्तुको कारोबार बढेको बजार समितिले जनाएको छ । अहिले कालीमाटीमा लकडाउन अघि झन्डै ४० प्रतिशत विदेशबाट अयातित तरकारी तथा फलफूल कारोबार हुने भएता पनि हाल स्वदेशी तरकारी तथा फलफूल ८० प्रतिशत कारोबार भइरहेको कालिमाटी फलफूल तथा तरकारी व्यवस्थापन समितिका प्रवक्ता विनय श्रेष्ठले बताए । उनका अनुसार मुलुक लकडाउन भएदेखि कागती, प्याज र केही फलफूल भारतबाट आयात हुने भएको र यी बाहेक अधिकांश स्वदेशी उत्पादन बिक्री भइरहेको छ ।

लकडाउन पछि स्वदेशी तरकारी तथा फलफूल आपूर्तिमा केही समस्या भएको र स्वदेशी उत्पादनले बजार नपाएको यथार्थ भएपनि कालीमाटी बजारमा भने २० प्रतिशत मात्रै आयातित तरकारी कारोवार भइरहेको बताउँछन् प्रवक्ता श्रेष्ठ । श्रेष्ठका अनुसार प्याज, कागती र फलफूलजन्य वस्तु बाहेक अन्य नेपाली उत्पादनले नै बजार पाइरहेको छ । कालीमाटीमा लकडाउनको अहिलेको समयमा दैनिक औसतमा ५०० टन हाराहारीमा तरकारीको कारोबार भइरहेको छ । केही तराइ र उपत्यकाभित्रका जिल्लाबाट निरन्तर तरकारी आइरहेको श्रेष्ठले जानकारी दिएका छन् ।

Logo