1
1

जननेता भण्डारीका विचार अहिले पनि उत्तिकै सान्दर्भिकः पूर्वमन्त्री बाँस्कोटा

1
1
1

काठमाडौं । नेकपाका केन्द्रीय सदस्य एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले जननेता मदन भण्डारी परिवर्तनकारी विचारका योद्धा भएको बताएका छन् । जननेता भण्डारीको ६९ औँ जन्मजयन्तीमा राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियु काभ्रेपलाञ्चोकद्वारा धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित स्मृतिपार्कमा आयोजित स्मृति सभालाई आइतबार सम्बोधन गर्दै उनले जननेता भण्डारीका विचार र सिद्धान्तका योद्धाका रुपमा रहँदै आएको दाबी गरे ।

उनले यतिबेला राष्ट्रवादी आन्दोलन चासो र चिन्ताको विषय बनिरहेका बेला जननेताका परिवर्तनकारी विचार मार्गदर्शक भएको बताए । उनले भने–‘भण्डारीका विचार वर्तमान अवस्थामा पनि उत्तिकै महत्व बनेको छ, उहाँका सिद्धान्तले आज पनि समग्र विषयको मार्गदर्शक रहेको छ ।’

जननेता एउटा व्यक्ति मात्रै नभई राष्ट्र रुपान्तरणका योद्धा रहेको उनले दोहो¥याए । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका उनले जननेताको सालिक कुनै ढुङ्गाको प्रतिमा मात्रै नभएको दाबी गरे ।
‘यो ढालिने सालिक हैन, एउटा अविचलित सालिक हो, जो नेपालीका मनमनमा कहिल्यै नढल्ने गरी रहिरहन्छ”, उनले भने । आन्दोलनहरु विश्रृङ्खलित हुँदा लेनिन र माक्र्स समेतका सालिक ढलेको स्मरण गर्दै उनले जननेताको सालिकलाई जनताको मन–मस्तिष्कको सालिकको संज्ञा दिए ।

उनले राजनैतिक दौरानमा धेरै योद्धा गुमाएको उल्लेख गर्दै जननेता मार्गदर्शक सिद्धान्तको प्रतिपादकमा स्थापित भएको बताए । उनले भने–‘उहाँ सांस्कृतिक, सामाजिक र राजनीतिक परिवर्तनमा अनन्त र निरन्तर रुपान्तरकारी विचारक हुनुहुन्थ्यो ।’  बाँस्कोटाले जननेताको विचार र दृष्टिकोण एउटा सामाजिक, आर्थिक पद्धतिका रुपमा ग्रहण गर्नुपर्ने आवश्यकता औँल्याए ।उनले जननेताको सालिकले उहाँको बहुआयामिक रुप र विचार प्रस्तुत गरिरहने चर्चा गर्दै भने–‘ढुङ्गा त बोल्दैन तर जननेताको सालिकले विचार, जीवन्त जीवन र सामाजिक मूल्यमान्यताका पद्धति प्रस्तुत गरिरहेको हुन्छ ।’

जननेताको सालिक कुनै सत्ताको बलमा स्थापित कुनै राजा महाराजाको सालिक नभएको बताउँदै नेपालमा परिवर्तनका निम्ति जीवन उत्सर्ग गर्ने योद्धाको सालिक भएको उनको भनाइ छ । उनले स्वाभाविक रुपमा फरक कोण र शैलीमा चुनौती आउने, भइरहने बताए । ‘हामीलाई स्वाभाविक रुपमा विविध चुनौती आइरहन्छन्, त्यसलाई सामना गरेर अघि बढ्नु पर्दछ, हामीसँग त्यो साहस र सामथ्र्य छ ।’–उनले भने । आफूहरू निरन्तर परिवर्तन र गतिको यात्रामा लागिरहने उनको धारणा थियो ।

उनले सभाअघि उद्यानमा रहेको जननेताको सालिकमा पुष्पगुच्छा अर्पण गरेका थिए । तत्कालीन नेकपा एमालेका महासचिव भण्डारीको २०५० साल जेठ ३ गते दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिएका जननेता भण्डारीले विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकीकरणका लागि ‘जनताको बहुदलीय जनवाद’ (जबज) को सिद्धान्त प्रतिपादन गरेका थिए ।–रासस

प्रकाशित: १४ असार २०७७ १७:५२ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी