सामान्य चेकजाँच मात्रै गरेर ल्याइयो चार किरियापुत्रीसहित ३७८ नागरिक

सामान्य चेकजाँच मात्रै गरेर ल्याइयो चार किरियापुत्रीसहित ३७८ नागरिक


कैलाली ।

किरियापुत्रीसहित सीमानाका झुलाघाटबाट ३७८ को उद्धार गरिएको छ । भारतका विभिन्न स्थानबाट आएर सीमावर्ती बजार झुलाघाट र पिथौरागढमा अलपत्र परेका चार किरियापुत्रीसहित सो सङ्ख्यामा सीमानाका झुलाघाटबाट उद्धार गरिएको हो । उद्धार गरिनेमा बैतडीका १६२, बझाङका १००, बाजुराका ३०, अछामका तीन, डडेल्धुराका पाँच, दार्चुलाका ११ र कञ्चनपुरका छ जनासहित १२ जिल्लाका नागरिक रहेका छन् ।

सीमानाकामा सामान्य चेकजाँच मात्रै गरेर नेपाली नागरिकलाई स्वदेश ल्याइएको हो । सीमानाका झुलाघाटबाट फर्केका नागरिकलाई सम्बन्धित जिल्ला पठाइएको र बैतडीको हकमा सम्बन्धित स्थानीय तहमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । यस अघि गत वैशाख १८ गते पनि झुलाघाट नाकाबाट नेपालीको उद्धार गरिएको थियो ।

यसैबीच सीमानाका झुलाघाटबाट ११ भारतीय नागरिक पनि स्वदेश फर्केका छन् । नेपाल र भारतका स्थानीय प्रशासनबीच भएको सहमति अनुसार दुवै देशका अलपत्र परेका नागरिकलाई आआफ्ना देशमा आवतजावत गर्न दिइएको हो । दश दिनदेखि भारतीय क्वारेन्टाइनमा बसेर किरिया गरिरहेका चार जनाले आज मात्रै स्वदेश फर्कन पाएका छन् ।रासस

Logo