भारतबाट एकै दिनमा एक हजार २०० कर्णालीवासी आइपुगे

भारतबाट एकै दिनमा एक हजार २०० कर्णालीवासी आइपुगे


सुर्खेत ।

कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–५ बबईमा एक हजार २०७ नागरिक आइपुगेका छन् ।

भारतका विभिन्न ठाउँबाट नेपालगञ्ज जमुनाह तथा पश्चिम गड्डाचौकी नाका हुँदै आज मात्र उनीहरु सो स्थानमा आइपुगेका हुन् । प्रवेशद्वारमा आइपुग्ने सबै कर्णालीवासी नागरिक रहेको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए । उनका अनुसार दैलेखका ५००, सुर्खेतका ३२०, सल्यानका २६६, जाजरकोटका ७७ र कालिकोटका ४४ नागरिक रहेको छन् ।

उनले भारतबाट सयौँको सङ्ख्यामा कर्णालीवासी नागरिक भित्रिदै गरेको यस परिवेशमा प्रदेश सरकारले सबैको आरडिटी गर्ने यद्यपी स्थानीय सरकारसहित नागरिक सबैलाई उच्च सतर्कता अपनाएर आफ्नो दायित्व पूरा गर्न अनुरोध गरेका छन् ।

प्रदेश सरकारले तत्काल आरडिटीका लागि आवश्यक किटसहित स्वास्थ्य जनशक्ति त्यहाँ पुगेको सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए । “त्यहाँ पुगेका सबैको आरडिटी परीक्षण गर्छौं र पोजेटिभ देखिएमा प्रदेशको क्वारेन्टानमा राख्छौँ । उनीहरुको पिसीआर गरेर सङ्क्रमण देखिएमा आइसोलेसनको पनि तयारी भइरहेको छ”, उनले भने ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतनिधि वाग्लेले अहिले तत्काल ७०० किटसहित १६ जना आरडिटीका लागि कर्मचारी त्यहाँ परिचालन भएको बताए । आवश्यकतामा अन्य थप किट पठाउने र परीक्षणकार्यलाई तीव्र बनाउने उनले जनाए ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्तले भारतबाट आउने नागरिकको शान्ति सुरक्षार्थ प्रहरी तयारी अवस्थामा राखिएको जानकारी दिए। यो डेढ साताभित्र प्रदेशमा १५–२० हजार नागरिक भित्रीसकेको अनुमान छ ।रासस

Skip This
Logo