१३ मंसिर २०७८ सोमबार

क्लिन फिड लागू गर्न मिडिया सोसाइटीको ध्यानाकर्षण

काठमाडौं । नेपाल मिडिया सोसाइटीले आगामी आर्थिक वर्षको सुरुबाट नै क्लिन फिड लागू गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडालाई भेटेर मिडिया सोसाइटीले क्लिन फिड साउनबाट लागू गर्न ध्यानाकर्षण गराएको हो । सबै सेवा प्रदायकहरु क्लिन फिडका लागि मानसिक रुपमा तयार भएकाले तीन महिना पर्खिनुभन्दा आर्थिक वर्षको सुरुबाटै लागू गर्न कुनै समस्या नहुने सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले बताए । आर्थिक वर्षको सुरुआतबाट नै विज्ञापन रहित विदेशी च्यानल हुनुपर्ने उनको भनाइ छ । विज्ञापनरहित बनाएर कसरी दिने/नदिने भन्ने कुरा सरकारको चिन्ताको विषय नभएको उनको तर्क छ ।

ध्यानाकर्षण पत्र बुझ्दै सरकारका प्रवक्ता डा. खतिवडाले यो विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिए । कानुनतः कार्तिक ८ गतेबाट लागू हुने भएपनि सरकारका कुनै प्रशासनिक निणयबाट छिटो गर्न सकिन्छ कि भन्ने विषयमा मन्त्रालय गृहकार्यमा जुटिरहेको उनको भनाइ छ । कार्तिक भन्दा अगाडि नै क्लिन फिडमा जान सकिने अवस्था भएमा छिट्टै मन्त्रिपरिषद्मा प्रस्ताव लगेर निर्णय गर्न सकिन्छ कि भन्ने विषयमा पनि गृहकार्य जारी रहेको उनले बताए ।

सरकारले क्लिन फिडका लागि कानुन निर्माण गरेपनि नियमावली र विज्ञापन बोर्ड गठन भने गर्न बाँकी रहेको मन्त्री खतिवडाले बताए । विज्ञापन ऐन–०७६ को प्रावधानअनुसार आगामी कात्तिक ८ देखि यो व्यवस्था लागू गर्नुपर्ने हुन्छ । नेपाली विज्ञापन बजारको प्रर्वधनका लागि सरकारले क्लिन फिड लागू गर्ने गरी ऐनमा व्यवस्था गरेको हो ।

प्रकाशित: २८ असार २०७७ १८:४३ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी