मकवानपुरका २ जना संक्रमित, चित्लाङ निवासी संक्रमित भन्छन्- ‘म संक्रमित हुँ तर स्वस्थ छु’

मकवानपुरका २ जना संक्रमित, चित्लाङ निवासी संक्रमित भन्छन्- ‘म संक्रमित हुँ तर स्वस्थ छु’


मकवानपुरका २ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा एक जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार बिहान जारी  प्रेस विज्ञप्तिका अनुसार मकवानपुर  निवासी ३७ वर्षीय पुरुषमा संक्रमण भेटिएको हो । उनी  कुन ठाउँका व्यक्ति हुन् भन्ने विषयमा भने मन्त्रालयले केही खुलाएको छैन।

यसअघि मकवानपुरको थाहा नगरपालिका ९ स्थित चित्लाङ निवासी पत्रकार सुरेश विडारीलाई संक्रमण पुष्टि भएको थियो। विडारी  लामो समयदेखि वीरगञ्‍जमा रहेर पत्रकारिता गर्दै आएका थिए ।

वीरगञ्‍जमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै  गएपछि आफूलाई पनि संक्रमण भयो कि भन्ने आशंकाले परिक्षण गर्दा पोजिटिभ नतिजा देखिएको उनले बताएका छन् ।  उनले गत २७ वैशाखमा परीक्षण गराएकामा ३१ वैशाखमा संक्रमण पुष्टि भएको थियो।

विडारी अहिले नारायणी उपक्षेत्रीय अस्पतालको आईसोलेसन वार्डमा छन्। उनले आफूमा कोरोना भाइरसको कुनै लक्षण नभएको उल्लेख गर्दै आफू निको हुनेमा ढुक्क रहेको फेसबुकमा लेखेका छन्। ‘मलाई कोभिड-१९ संक्रमण पुष्टी भएको सही हो । लक्षण छैन । म ठिक हुन्छु । तपाईहरू पनि ढुक्क रहनुस । धेरैको फोन र म्यासेज आएको थाहा छ। सबैसँग कुरा हुन सकेको छैन ।’ उनले लेखेका छन्।

उनले आफू संक्रमित भएपनि स्वस्थ रहेको बताएका छन्। ‘म संक्रमित हो तर स्वस्थ छु । गेट वेल सून लेखेर बिरामी बनाउने प्रयास नगर्नुस न प्लीज ।’ उनले अर्को स्टाटसमा लेखेका छन् ।

Logo