1
1

राज्यमन्त्रीद्वारा निर्माणाधिन संघीय संसद भवनको अवलोकन

1
1
1

काठमाडौं । सहरी विकास मन्त्रालयले काठमाडौं उपात्यकामा विशेष भवन निर्माण अन्तर्गत निर्माण भइरहेका विभिन्न चार आयोजनाको अवलोकन गरेको छ । सहरी विकास राज्य मन्त्री रामवीर मानन्धर सहितको टोलीले सिंहदरबारभित्र निर्माण भइरहेको संघीय संसद भवन, ललितपुरको सैंबु भैसेपाटीमा निर्माण भइरहेको राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाका उप–सभामुख, संघीय मन्त्रीहरुको आवास र प्रदेश प्रमुख तथा मुख्य मन्त्रीहरुको सम्पर्क कार्यालय र ललितपुरकै गोदावारीमा निर्माण भइरहेको ३ हजार सिट क्षमताको सम्मेलन केन्द्र (सिटी हल) निर्माणको अवलोकन गरेको हो ।
अवलोकनपछि भवन निर्माणमा कोभिड–१९ ले आंशिक प्रभाव पारेको भएपनि तोकिएको समय अवधिभित्रै निर्माण सम्पन्न हुने गरी काम भइराखेको राज्यमन्त्री मानन्धरले जानकारी दिए । उनले सरकारका ऐतिहासिक कामहरुको नतिजा जनताले महशुस गर्ने गरी देखिने बेला भएको बताए ।

गत वर्ष असोज १६ गते निर्माण सम्झौता भएको संघीय संसद भवनको निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको थियो । कूल १ सय ७३ रोपनी ८ अना जग्गामा संसद भवन सहितका विभिन्न १२ वटा संरचना निर्माण हुने छन् । जसमध्ये अहिलेसम्म ६ वटा भवनहरुको निर्माण कार्य सुरु भएको छ । सहरी विकास तथा भवन निर्माण विभागका उपसचिव प्रकीर्ण तुलाधरले अहिलेसम्म निर्माण स्थल घेर्ने, ३ सय ९० वटा रुख कटान गर्ने, निर्माण उपकरण र सामाग्रीहरुको व्यवस्थापन गर्ने लगायतका काम भएको बताए । निर्माण स्थलमा रहेको चण्डीदल गण, नेपाली सेनाको बैण्ड गुल्म र शहरी वनस्पति उद्यान कार्यलाय हटाउने काम भएको समेत उनले जानकारी दिए । कूल ६ अर्ब ९२ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी सुरु गरिएको आयोजनाको ३ वर्षभित्र सम्पन्न गर्नुपर्ने भएपनि अहिलेसम्म ७ प्रतिशत मात्रै भौतिक प्रगति भएको उनले बताए ।

ललितपुरको सैंबु भैसेपाटीमा राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधि सभाका उपसभामुख, संघीय मन्त्री निवास र प्रदेश प्रमुख, मुख्य मन्त्रीहरुको आवास तथा सम्पर्क कार्यालयको निर्माण कार्य भने लक्ष्यअनुसार नै भइरहेको पाइएको छ । २०७६ कात्तिक २७ गते ठेक्का सम्झौता भएका यी दुवै आयोजना दुई वर्षभित्र अर्थात २०७८ कात्तिक २६ गते सम्पन्न भइसक्नुपर्ने छ । आयोजनाका अनुसार राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधि सभा उपसभामुख, लगायत संघीय मन्त्रीहरुको निवास निर्माणका लागि १ अर्ब ३ करोड ४६ लाख ८३ हजार ४ सय ३७ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । त्यस्तै प्रदेश प्रमुख र मुख्य मन्त्रीहरुको आवास तथा सम्पर्क कार्यालयको निर्माणका लागि ७२ करोड ४७ लाख ९४ हजार ८ सय ३४ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । करिब १ सय २४ रोपनी क्षेत्रफलमा निर्माण भइरहेका यी दुई आयोजना दुई वर्षभित्रै निर्माण सम्पन्न हुने गरी काम भइरहेको छ । सिनियर डिभिजन इन्जिनीयर प्रमोद कर्माचार्यका अनुसार दुवै आयोजनामा २२ प्रतिशत भौतिक र १८ प्रतिशत आर्थिक प्रगति भएको छ । उनले कोभिडको समयमा पनि काम निरन्तर अगाडि बढेकाले तोकिएको अवधिभित्रै निर्माण सम्पन्न हुने बताए ।

ललितपुरको गोदावारीमा निर्माण भइरहेको ३ हजार सिट क्षमताको सम्मेलन केन्द्र (सिटी हल) निर्माण कार्ययको प्रगति सबैभन्दा धेरै भएको छ । यो आयोजनाको अहिलेसम्म करिब ६१ प्रतिशत भौतिक र ४३ प्रतिशत आर्थिक प्रगति भएको छ । कूल ४३ रोपनी १५ आनामा ५८ करोड २४ लाख ४७ हजार ३ सय ९ रुपैयाँ लागतमा निर्माण भइरहेको सम्मेलन केन्द्र पनि निर्धारित समयभित्रै निर्माण सम्पन्न हुनेगरी काम भइराखेको मन्त्रालयका सचिव मधुसुदन अधिकारीले जानकारी दिए ।
त्यस्तैगरी सिंहदरबारभित्रको प्रतिनिधि सभा भवन पुरानो र सानो भएपछि संसद बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदै आएको छ । संसद सचिवालयले सम्मेलन केन्द्र विकास समितिलाई वार्षिक करिब १५ करोड रुपैयाँ भाडा बुझाउँदै आएको छ । संसद भवनका लागि ठूलो रकम भाडाबापत तिर्नुपर्ने भएपछि सरकारलाई आर्थिक भार परेको छ । त्यसैलाई कम गर्न सरकाले आफ्नै संसद भवन निर्माण गर्न लागेको हो । साथै, सरकारको मास्टर प्लान अनुसार नै राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाका उप–सभामुख, संघीय मन्त्रीहरुको आवास र प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको आवास तथा सम्पर्क कार्यालय निर्माण गरेको हो । राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाका उप–सभामुख, संघीय मन्त्रीहरुको आवास ९६ रोपनी १० आना र प्रदेश प्रमुख तथा मुख्य मन्त्रीको आवास तथा सम्पर्क कार्यालय २७ रोपनी १२ आना क्षेत्रफलमा निर्माण भइरहेको छ ।

प्रकाशित: १० साउन २०७७ १७:२४ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी