1
1

नेकपा विवाद साम्य पार्न मन्त्रिमण्डल पुनर्गठन गरिने

1
1
1

पार्टीभित्र देखिएको विवाद जति विधि र सिद्धान्त भने पनि भागवण्डाको बार्गेनिङ नै हो, त्यसैले ढिलो चाँडो मन्त्रिमण्डल पुनर्गठन हुन्छ ।

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउन मन्त्रिमण्डल पुनर्गठन गरिने भएको छ । पार्टीभित्रको तीन धारबीचको शक्ति सन्तुलन मिलाउन मन्त्रिमण्डल मन्त्रिमण्डल पुनर्गठन गर्न लागिएको हो ।

नेकपाभित्र यतिबेला मुख्य रुपमा तीन गुट अस्तित्वमा रहेका छन् । ती हुन् प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल । अहिलेको मन्त्रिमण्डलमा ओली पक्ष सबैभन्दा बलियो छ । त्यसैले आफू अनुकुलका निर्णयहरु गर्न सफल पनि छ । कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल पक्षले निरन्तर उनको विरोध गर्दै आएका छन् । पार्टीको विधान अनुसार एक व्यक्ति एक मुख्य जिम्मेवारी हुनपर्ने उनीहरुको माग छ ।

त्यसैले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक पदबाट राजीनामा दिनुपर्ने उनीहरुको अडान छ । उनीहरु आफ्नो अडानलाई विधि र सिद्धान्तको लडाइँ भन्दै आएका छन् । तर ओली पक्षका नेता तथा कार्यकर्ताहरु पद बार्गेनिङ गर्ने हतियारको रुपमा लिँदै आएका छन् । ओली निकट मानिने नेकपाका केन्द्रीय सदस्य कर्ण थापा पार्टीभित्र देखिएको विवादलाई जति विधि र सिद्धान्तको लडाइ भनिए पनि पद बार्गेनिङ गर्ने हतियार मात्र भएको बताउँछन् । हिजोदेखि नै एक व्यक्ति एकभन्दा बढी पदमा रहँदै आएकाले अहिले उक्त मुद्दालाई उठाउनु प्रधानमन्त्री ओलीलाई अप्ठ्यारोमा पार्ने र पद प्राप्ति गर्ने दाहाल–नेपाल पक्षको रणनीति भएको उनको भनाइ छ । उनले केन्द्रबिन्दुसँग संक्षिप्त कुराकानी गर्दै भने–‘पार्टीभित्र देखिएको विवाद कुनै विधि र सिद्धान्तका लागि होइन । पद बार्गेनिङ गर्ने हतियार मात्र हो । त्यसैले ढिलो चाँडो मन्त्रिमण्डल पुनर्गठन हुन्छ । मन्त्रिमण्डल पुनर्गठनपछि विवाद पनि साम्य हुन्छ ।’

पार्टीभित्रको विवाद पद प्राप्तिका लागि भएकाले अहिले नै मन्त्रिमण्डल पुनर्गठन गर्नुहोस भनेर प्रधानमन्त्रीलाई पहिलेदेखि नै प्रधानमन्त्री ओलीलाई सुझाव दिएको उनको भनाइ छ । नेता थापाले थपे–‘हामीले पार्टीभित्रको विवाद सतहमा आउँदा नै भनेका थियौँ । यो सबै विवाद पदका लागि हो । त्यसैले मन्त्रिमण्डल पुनर्गठन गर्नुहोस । विवाद समाधान हुन्छ । ढिलो चाँडो मन्त्रिमण्डल पुनर्गठन हुन्छ । आज हुने वा भोलि हुने भन्ने मात्र हो ।’

पार्टीभित्र देखा परेको विवाद समाधान गर्न अध्यक्षद्वय ओली र प्रचण्डले गत शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । नवगठित कार्यदलमा महासचिव पौडेल, भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे सदस्य रहेका छन् । कार्यदलमा भएका पौडेल र पोखरेल ओली पक्षका हुन् । त्यस्तै शर्मा र भुसाल दाहाल पक्षका हुन् भने रावल र पाण्डे वरिष्ठ नेता नेपाल पक्षका हुन् ।

कार्यदलले पार्टीभित्रका समस्या के हुन ? समाधान के हुन सक्छ ? भन्ने विषयमा केन्द्रीत रहेर प्रतिवेदन तयार पारि दुई अध्यक्षद्वयलाई बुझाउने छ । सोही प्रतिवेदनका आधारमा विवाद समाधानको बाटो खोजिने छ । कतिपयले नवगठित कार्यदलले मन्त्रिमण्डल पुनर्गठन गर्न सुझाव दिने बताउँदै आएका छन् । तर ओली निकट मानिने एक स्थायी कमिटी सदस्य मन्त्रिमण्डल फेरबदलको काम दुई अध्यक्ष बीचको सहमतिमा मात्र हुने दाबी गर्छन । ती नेताको दाबी छ–‘कार्यदलले मोटामोटी रुपमा सतहमा आएका विवादहरुका बारेमा मात्र छलफल गर्नेछ । मन्त्रिमण्डल फेरबदल गर्ने कुरा दुई अध्यक्ष बीचको सहमतिमा मात्र सम्भव छ ।’

त्यस्तै ती नेता मन्त्रिमण्डल पुनर्गठन हुने भएपनि मुख्यमन्त्री फेरबदल गर्ने हल्ला निराधार रहेको बताउँछन् । विवाद केन्द्रमा भएकाले प्रदेशका मुख्यमन्त्रीसँग कुनै सरोकार नभएको उनले बताए । ती नेताले भने–‘विवाद केन्द्रमा छ । त्यसैले मुख्यमन्त्री फेरबदल गर्ने हल्ला निराधार मात्र हो ।’

प्रकाशित: ३२ साउन २०७७ १९:५३ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी