भारतको औद्योगिक उत्पादनमा व्यापक गिरावट

भारतको औद्योगिक उत्पादनमा व्यापक गिरावट


नयाँदिल्ली । कोरोना भाइरस रोकथामका लागि मुलुकलाई लकडाउन गरेको कारण भारतमा गत अप्रिल महिनामा समग्र औद्योगिक उत्पादनमा भारी गिरावट आएको छ । लकडाउनका कारण भारतका अधिकांश उद्योग प्रतिष्ठानहरु बन्द गरिएपछि यस्तो अवस्था सिर्जना भएको हो ।

मागमा व्यापक कमी आएपछि नयाँ व्यवसायहरु यस अवधिमा शुरु हुन पाएका छैनन् भने हाल सञ्चालनमा रहेका उद्योग व्यवसायबाट पनि व्यापक मात्रामा कर्मचारी कटौती गरिएको छ । यहीबीच, उत्पादित वस्तुको मागलाई यथावत राख्न उद्योग प्रतिष्ठानहरुले लागत खर्च र उत्पादित सामग्रीको मूल्यमा पनि निकै कमी ल्याएका छन् । मार्च महिनामा ५१.८ विन्दुमा रहेको आइएचएस मार्किट इन्डिया म्यानुफ्याक्चरिङ पिएमआई अप्रिल महिनामा झण्डै आधाले घटेर २७.४ विन्दुमा झरेको छ । भारतमा मासिक पिएमआई गणना विगत १५ वर्षदेखिको तथ्याँक विश्लेषणका आधारमा हुने गरेको छ ।

पिएमआई गणनामा समाविष्ट विज्ञहरुको समूहले कलकारखानाहरु अस्थायी रुपमा बन्द गरिएका कारण उत्पादनमै कमी आएको बताएको छ । कलकारखाना र व्यवसायहरु सबैजसो बन्द गरिएका कारण अप्रिल महिनामा मागमा नराम्रो असर परेको हो । विगत अढाई वर्षयता पहिलोपटक नयाँ मागमा गिरावट आएको छ । भारतीय औद्योगिक सर्भेमै पहिलो पटक सबैभन्दा तीव्र गतिमा मागमा कमी आएको हो ।

अप्रिल महिनामा अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि मागमा व्यापक कमी आएको छ । सन् २०१७ यता विदेश निर्यातमा पहिलोपटक सबैभन्दा कमजोर स्थिति देखिएको छ । मागमा कमी आएसँगै अप्रिलमा व्यापक कर्मचारी कटौती भएको छ । भारतीय आइएचएस पिएमआई भारतीय औद्योगिक क्षेत्रको सूचना विश्लेषण गर्ने प्रमुख सूचक हो । –रासस/एएनआई

Logo