१३ मंसिर २०७८ सोमबार

नेकपा स्थायी कमिटी बैठक २६ गते बस्दै, कार्यदल प्रतिवेदनमाथि छलफल हुने

काठमाडौं । सत्ताधारी दल नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने भएको छ । गत साउन १३ गतेदेखि स्थगित हुँदै आएको स्थायी कमिटी बैठक शुक्रबार बस्न लागेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले स्थायी कमिटीको स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको जानकारी दिए । सोमबार बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलसहितको छलफलमा यस्तो सहमति भएको उनको भनाइ छ ।

गत असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठक आन्तरिक विवादका कारण पटक–पटक स्थगित हुँदै आएको छ । पछिल्लो पटक गत साउन १३ गते बोलाइएकोे बैठक प्रधानमन्त्री एवं अध्यक्ष ओलीले एकतर्फी रुपमा स्थगित गरेका थिए । ओलीले आपसी सहमति विना नै उक्त बैठक स्थगित गरेपछि अर्का कार्यकारी अध्यक्ष दाहालको अध्यक्षमा बैठक सञ्चालन गरिएको थियोे । जसमा दाहाल–नेपाल पक्षका २९ जना स्थायी कमिटी सदस्य र दुई जना आमन्त्रित सदस्यहरु उपस्थित भएका थिए । उक्त बैठकले एकलौटी रुपमा पूर्व निर्धारित स्थायी कमिटीको बैठक स्थगित गर्ने ओलीको कदम पार्टीको विधान र पद्धति विपरित भएको निश्कर्ष समेत निकालेको थियो ।

सो बैठकलाई दाहाल–नेपाल पक्षले बहुमत स्थायी कमिटी सदस्यको बैठक भन्दै आएका छन् भने ओली पक्षकाले खुमलटार, कोटेश्वर र भैसेपार्टीमा हुने जस्तो सामान्य भेटघाट मात्र भएको बताउँदै आएका छन् । दुबै पक्षकाले आ–आफ्नो स्वार्थ अनुसार डम्फू बजाउँदा नेकपा विवाद विभाजनकै तहमा पुगेको थियो । पार्टी विभाजन हुने खतरा बढेका बेला अध्ययन कार्यदल गठन गरिएको थियो ।

गत साउन ३० गते अध्यक्षद्वयको सहमतिमा अध्ययन कार्यदल गठन गरिएको हो । उक्त कार्यदलमा महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यद्वय शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे रहेका थिए । कार्यदलले नौ दिन लगाएर १७ पृष्ठ लामो आफ्नो अध्ययन प्रतिवेदन दुई अध्यक्षद्वयलाई बुझाएको थियो । सो प्रतिवेदनमाथि सचिवालय बैठकमा छलफल भइसकेको छ । सचिवालयपछि उक्त कार्यदललको प्रतिवेदनमाथि स्थायी कमिटीमा घनिभूत छलफल हुने स्थायी कमिटीका एक सदस्य बताउँछन् ।

प्रकाशित: २२ भदौ २०७७ १३:०३ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी