काभ्रेमा विदेशबाट फर्केकाको परीक्षणपछि सम्पर्क व्यक्तिको खोजी गरिंदै

काभ्रेमा विदेशबाट फर्केकाको परीक्षणपछि सम्पर्क व्यक्तिको खोजी गरिंदै


काभ्रे ।

विभिन्न मुलुकबाट गत फागुन यता घर फर्किएका सबैको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) बाट कोरोना परीक्षण गरिएको छ । स्थानीयस्तरमै गरिएको आरडिटीमा सबैको ‘रिपोर्ट नेगटिभ’ देखिएको छ ।

जिल्लास्थित स्थानीय तह स्वास्थ्य शाखाको समन्वयमा विदेशबाट आएका ४५८ कै कोरोना भाइरस परीक्षण नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए। उनका अनुसार चैत महिनामा मात्रै घर फर्किएका २५१ जनाको पहिलो चरणमा आरडिटी गरिएको हो । “विदेशबाट जिल्लामा फर्किएकामध्ये पहिलो र दोस्रो चरणमा गरिएको आरडिटीमा सबैको रिपोर्ट नेगेटिभ आएको छ”, झाले भने । कार्यालयले विदेशबाट फर्कने सबैको आरडिटी सकिएको र कुनै व्यक्तिमा पनि कारोना भाइरस सङ्क्रमण नभएको पुष्टि गरेको छ ।

झाका अनुसार विदेशबाट घर फर्किएकामध्ये आरडिटीमा मण्डनदेउपुर नगरपालिका र बेथानचोक गाउँपालिकाको दुई जनामा सङ्क्रमण शङ्का लागेकामा दोस्रो परीक्षण पोलिमरेज चेञ्ज रियाक्सन (पिसीआर) मा नेगेटिभ देखिएको हो । स्वास्थ्य कार्यालयका अनुसार फागुन १५ गते यता ४५८ जना विदेशबाट घर फर्किएको तथ्याङ्क प्राप्त भएको छ । आरडिटीका लागि काभ्रेमा वाग्मती प्रदेशस्थित सामाजिक विकास मन्त्रालयद्वारा ५०० र सङ्घीय कार्यालयद्वारा प्राप्त ४०० किट उपलब्ध गराइएको थियो । विदेशबाट आएकाको चैत अन्तिम सातादेखि परीक्षण थालिएको हो ।

विदेशबाट फर्किएका आठ जनालाई मण्डनदेउपुर नगरपालिकास्थित क्यारेन्टाइनमा राखिएकामा उनीहरुको क्वारेन्टाइन बसाइ अवधि सकिएपछि स्वास्थ्य परीक्षण गरी एकान्तवास (होम क्वारेन्टाइन) पठाइएको थियो । अन्य स्थानीय तहमा विदेशबाट फर्किएकालाई स्थानीय तहका स्वास्थ्यकर्मीद्वारा प्रारम्भिक परीक्षण गरी होम क्वारेन्टाइनमै बसाइएको झाले जानकारी दिए। उनका अनुसार विदेशबाट फर्किएकाको परिवार तथा उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिको पहिचान भइरहेको छ । पहिलो चरणमा मण्डनदेउपुर नपा र बेथानचोक गाउँपालिकाबाट खोजीकार्य भइरहेको जनाइएको छ । “सम्पर्कमा आएका व्यक्तिको खोजी गर्दैछौँ, भाइरस सङ्क्रमण शङ्कास्पद देखिएमा परीक्षण गर्दै जानेछौँ”, झाले भने ।

जिल्लाका तेह्र स्थानीय तहले २८८ शैयाको क्वारेन्टाइन व्यवस्थित गरेका छन्, जसमध्ये धुलिखेल नपामा ६५, बनेपा नपामा ५०, पनौती नपामा १०, नमोबुद्ध नपामा १८, पाँचखाल नपामा ११ शैया तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा चार र खानीखोला गाउँपालिकामा १५ शैयाको क्वारेन्टाइन व्यवस्थित गरिएको हो । ती क्वारेन्टाइन भने हाल रित्तिएको अवस्थामा छन् ।

धुलिखेल अस्पतालमा आठ र बनेपास्थित शिर मेमोरियल अस्पतालमा पाँच श्ययाको आइसोलेसनकक्ष व्यवस्थित गरिएको छ । काभ्रेमा छ नगरपालिका र सात गाउँपालिका छन् ।रासस

Skip This
Logo