पार्टीलाई एकताबद्ध बनाउन पूर्वप्रम नेपालको आह्वान

पार्टीलाई एकताबद्ध बनाउन पूर्वप्रम नेपालको आह्वान


काठमाडौं ।

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान चुनौतीपूर्ण घडीमा पार्टी एकताप्रति संवेदनशील रहन, पार्टीलाई एकताबद्ध बनाइराख्न र आपसी हार्दिकता अभिवृद्धि गर्न आह्वान गरेका छन् । वरिष्ठ नेता नेपालले नेपाल कम्युनिस्ट पार्टीको ७१ औँ स्थापना दिवसका अवसरमा संस्थापक महासचिव पुष्पलाल लगायत संस्थापकहरुको स्मरण गर्दै जारी गरेको प्रेस विज्ञप्तिमा बलियो र एकताबद्ध पार्टीबाट मात्रै मुलुकको आमूल परिवर्तनको नेतृत्व गर्न र जनताले सुम्पेको जिम्मेवारी कुशलताका साथ पूरा गर्न सकिने उल्लेख छ ।

कम्युनिस्ट आन्दोलनका विगतका टुटफुट र विभाजनका नकारात्मक अनुभवबाट पाठ सिक्दै दुई वर्षअघि गरेको पार्टी एकतालाई अझ सुदृढ, दिगो र बलियो बनाउनु यतिबेला सबै नेता–कार्यकर्ताको गहन जिम्मेवारी भएको उनले उल्लेख गरेका छन् । “मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको बेलामा पार्टीको दायित्व अझै बढेको छ, नयाँ संविधान जारी भएपछि सम्पन्न निर्वाचनमा जनताले पार्टीलाई दिएको अभिमत सामाजिक न्यायसहितको समुन्नत र समृद्ध मुलुक निर्माणको अभिभारा पूरा गर्नका लागि हो”, विज्ञप्तिमा भनिएको छ, “नेपालको राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, अखण्डता र स्वाभिमानलाई बलियो तुल्याउनको लागि हो ।”

राष्ट्रिय राजनीतिमा पार्टीले निर्वाह गरिरहेको नेतृत्वदायी भूमिका पार्टीको विधि–पद्धति तथा सङ्गठनात्मक प्रणाली, नेतृत्व तहबीचको विश्वास, कार्यकर्ताहरुबीचको एकताबद्ध सहकार्य र जनसमुदायको समर्थनबाट मात्र सफलताका साथ पूरा गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । “सिङ्गो पार्टी पंक्तिलाई भावनात्मक रुपले एकताबद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नुपर्दछ”, विज्ञप्तिमा भनिएको छ, “पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउने कुरामा आ–आफ्नो ठाउँबाट योगदान गर्न पनि म सबैलाई आग्रह गर्दछु ।”

कोरोना भाइरसको महामारीले विश्वसहित नेपाललाई आक्रान्त पारिरहेको बेला सरकार तथा सरकारको नेतृत्व गरिरहेको पार्टीका हैसियतले सिङ्गो राष्ट्र, पार्टीसहित अन्य पार्टीका नेता, कार्यकर्ता र जनताको ध्यान महामारीको सङ्क्रमणका विरुद्ध लड्ने काममा केन्द्रित हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ । साथै, सरकारले गरेका निर्णयको पालना गर्दै आफू पनि सुरक्षित रहँदै जनताको स्वास्थ्य र जीवन सुरक्षामा केन्द्रित रहन र जनसेवाको भावनाबाट अग्रसर हुन नेता नेपालले सबैलाई अनुरोध गरेका छन् ।रासस

Logo