१४ माघ २०७८ शुक्रबार

कोरोना सम्बन्धी तथ्यगत जानकारी सम्प्रेषण गर्न नसक्दा आतंक फैलियो–सांसद

काठमाडौं । सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारीभन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सृजना भएको बताएका छन । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा बिहीबार भएको छलफलमा सांसदहरुले कोरोनाका विषयमा तथ्यगत जानकारी सम्प्रेषण हुन नसक्दा जनतामा आतंक फैलिएको बताएका हुन् ।
सांसद रामचन्द्र राईले कोरोना महामारी हो कि सरुवा रोग मात्रै हो भन्ने कुरा प्रष्ट पार्नुपर्ने बताए । स्वास्थ्य मन्त्रालयका अधिकारी सहभागी बैठकमा उनले सरुवा रोग मात्रै हो भने कोकोहोलो किन गर्नुपरेको भन्दै प्रश्न गरे । महामारी नै हो भने सामान्य अवस्थाको मृत्युदर र अहिलेको मृत्युदरको विश्लेषण हुनुपर्ने उनको माग छ ।

सांसद कोमल वलीले लक्षण देखिएकालाई मात्रै पीसीआर परीक्षण गर्ने नीति ठिक नभएको बताइन् । संक्रमित भएर उपचार गराइरहेको व्यक्तिले अन्य व्यक्तिमा संक्रमण फैलाउने दर बढी हुने भएकाले लक्षण देखिएमात्रै परीक्षण गर्ने नीति ठिक नभएको उनको भनाइ छ । परीक्षणमा भएको खर्चभन्दा पनि जनताको स्वास्थ्य ठूलो कुरा भएको उनले बताइन् । साथै सांसद गोपीबहादुर सार्कीले कोभिडको विषयमा बढी चर्चा र आतंक फैलाइएको बताए । आतंक सृजना हुने गरी भएको प्रचारले आम मानिसमा मनोवैज्ञानिक असर देखिएको उनको भनाइ छ । सांसद शेखरकुमार सिंहले स्थानीय तहमा अस्पतालको संख्या मात्रै नभएर जनशक्ति पनि बढाउनेतिर ध्यान दिनुपर्नेमा जोड दिए ।

त्यस्तै सांसद अनिता देवकोटाले अबको अवस्था कसरी सामान्य बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने बताइन् । कोभिड–१९ संक्रमणको जोखिम नेपालमा पनि हुन्छ भन्ने थाहा भएपनि रोकथामका लागि सरकार र संसदले आवश्यक योजना बनाउन नसकेको उनको भनाइ छ ।सांसद खिमलाल देवकोटाले पछिल्लो समय समाजमा लकडाउनको आतंक फैलिएकोले अब लकडाउन गर्न नपर्ने गरी प्रोटोकल बनाउनुपर्ने बताए ।

छलफलमा सहभागि मन्त्रालयका सहसचिव डा. गुणराज लोहनीले अहिले भेन्टिलेटरभन्दा अक्सिजनको उपचार विधि लाभदायी देखिएको दाबी गरेका छन् । आयुर्वेदिक औषधिको परीक्षण र प्रयोग नेपालमा पनि भइरहेको सन्दर्भमा ७, ८ दिनमा रिपोर्ट नेगेटिभ आउने गरेको उपचारमा संलग्न व्यक्तिहरुले रिपोर्ट गर्ने गरेको उनको भनाइ छ । पालिकाहरुमा स्थापना हुने अस्पतालहरुमा छात्रवृतिमा अध्ययनरत विद्यार्थीहरुमध्ये प्रत्येक पालिकामा १ जना चिकित्सकको व्यवस्था गर्नेगरी योजना अगाडि बढेको उनले बताए ।

मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोरोनाको भ्याक्सिन बनेपछि नेपाललाई सहज रुपमा उपलब्ध गराउन भारत, रसिया र चीन लगायतका मुलुकसँग दुई पक्षीय कुराकानी भइरहेको जानकारी दिए । चिकित्सकहरुको जोखिम भत्ताका विषयमा मन्त्रिपरिषद्ले तयार पारेको कार्यविधिअनुसार वितरण भइरहेको उनको भनाइ छ । नेपाली वैज्ञानिकहरुले भ्याक्सिन पत्ता लगाएको अवस्थामा पनि सुरुआती चरणमा अन्य देशहरुको भ्याक्सिन नै प्रयोग हुने उनले बताए । भ्याक्सिन पत्ता लागेपछि परीक्षणमा बढी समय लाग्ने भएकाले पनि तत्कालीन अवस्थामा अन्य देशहरुले बनाएको भ्याक्सिन नै प्रयोगमा आउने उनको भनाइ छ ।

प्रकाशित: ८ असोज २०७७ १८:५३ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी